फोनको घण्टी बज्दा तर्सिन्छन् बन्दीपुरका होटल व्यवसायी

  असोज १०, २०७८

तनहुँ, असोज ९ : फोनको घण्टी बज्दा खुसी हुनेगरेका तनहुँ बन्दीपुरका पर्यटन व्यवसायीहरु अहिले तर्सिन थालेका छन् । कोरोनाको प्रभावअघि ट्राभल्स एजेन्सीहरु, पर्यटकहरुले होटल बुकिङका लागि फोन गर्दा खुसी हुनेगर्थे । तर अहिले बैंक, वित्तीय सस्था तथा साहुहरुले भुक्तानीको ताकेता गरेकाले तनावमा परेका हुन् ।

पर्यटकलाई लक्षित गरी खुलेका बन्दीपुर होटल तथा रिसोर्ट कोरोना कहरले लामो समयदेखि ढोका बन्द हुँदा आम्दानी नभएर अप्ठ्यारोमा परेका छन् । कोरोनाको असर कम हुँदै गएकोले आम्दानी हुन थालेको होला भन्दै भुक्तानीको लागि बारम्बार फोन आउनेगरेको व्यवसायीहरु बताउँछन् ।

जिल्लामा गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी भएकोमा पटक पटक गरी त्यसैलाई निरन्तरता दिइँदैआएको छ । बन्दीपुर पर्यटन व्यवसायी समितिका निवर्तमान अध्यक्ष बैस गुरुङले कोरोना अघि होटल बुकिङका लागि बारम्बार फोन आउँदा खुसी हुने व्यवसायी हाल ऋण तिर्न ताकेका गर्दै फोन आउने गरेकोले व्यवसायीहरु तर्सने गरेको बताउनुभयो ।

पर्यटन व्यवसायी लामो बन्दाबन्दीले थलिएकाले व्याज मिनाहा गर्न सरकारले ध्यान दिनुपर्ने गुरुङ बताउनुहुन्छ । ‘‘९० प्रतिशत व्यवसायीहरुले बैंकबाट ऋण लिएर लगानी बढाइरहेकोले ढोका लगाएर बस्नुपर्दा व्यवसायीहरु थलिएका छन्’’ गुरुङले भन्नुभयो । बैंक तथा वित्तिय सस्थाहरुले नाफा देखाउने होडबाजी गरिरहेकाले सरकारले पहलकदमी गरी व्याजदर घटाउने, बन्दाबन्दी अवस्थाकाबेलाको व्याज नलिनेजस्ता राहतका कार्यक्रम ल्याई पर्यटन व्यवसायीको संरक्षण गरिनुपर्ने गुरुङको भनाइ छ ।

“अब मजदूरलाई के गर्ने, ऋण कसरी तिर्ने सबैको चिन्ता यही छ’’ गुरुङले भन्नुभयो । बन्दीपुरमा पर्यटकको आवागमन बढ्दैगएकोले व्यवसायीले ऋण थपेर होटलमा लगानी बढाएकोमा हाल आम्दानी नहुँदा सावाँ तथा व्याज भुक्तानीको लागि समस्या परेको पर्यटन व्यवसायी नारायण खड्काले बताउनुभयो ।

पर्यटक आवागमन ठप्प भएकाले व्यवसाय धान्न प्रतिकुल अवस्थासम्म घरबेटीलाई आधामात्रै भाडा तिरेर बस्ने सहमति भएको जानकारी दिनुभयो । श्रेष्ठ होटल एण्ड रेष्टुरेन्टका सञ्चालिका गायत्री श्रेष्ठले पर्यटकीय क्षेत्रमा पर्यटक नआएकाले पर्यटन व्यवसायीलाई बाँच्न कठिन भएको बताउनुभयो । “हाम्रो खेती भनेकै व्यवसाय हो, ग्राहक आएका छैनन् हामी मारमा परेका छौं’’ गायत्रीले भन्नुभयो । रेखा होटल एण्ड लजकी सञ्चालिका पार्वती खड्का पर्यटक आवागमन हाल ठप्प भएकाले पर्यटन व्यवसायीहरु थलिएको बताउनुभयो ।

बन्दीपुर सामुदायिक होमस्टेका सदस्य सन्तोष प्रधान कोरोना भाइरसको असरका कारण पर्यटक नआउँदा बन्दीपुर सुनसान भएको जानकारी दिनुभयो । पर्यटन व्यवसायलाई लयमा फर्काउन सबैलाई खोपको व्यवस्था गर्नुपर्ने प्रधानले बताउनुभयो । बन्दीपुरमा करिब दश वटा होटल निर्माणाधीन अवस्थामा छन् । बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दीपुर प्यालेस, मगर भिलेज लगायत सानाठूला गरी ७० होटल छन् । यसका अतिरिक्त चारवटा समूहले घरबास ‘होमस्टे’ सञ्चालनमा ल्याएका छन् ।

बन्दीपुरमा घुमघामका लागि मात्र नभएर तालिम, सेमिनार, गोष्ठी, विभिन्न कार्यक्रम गर्न देशभरबाटै नागरिक आउँथे तर कोरोनाको कारण कोही नआउँदा सुनसान छ । हाल कोरोना कम हुँदैगएसँगै विदाको दिनमा भने छिटफुट रुपमा पर्यटक आउन थालेको बन्दीपुर गाउँपालिका–५ ढापस्थित मस्याङ्दी रिभर भ्यू रिर्सोटका सञ्चालक महेन्द्रमोहन भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया