मनाङ कारागारमा जम्मा दुई जना कैदीबन्दी

  असोज ०६, २०७८

लमजुङ, असोज ६ : जिल्ला कारागार मनाङमा सुन तस्करीका एक जना र जवर्जस्ती करणी मुद्दाका एकजना गरी अब जम्मा दुई जना मात्रै कैदी बन्दी बाँकी छन् । संविधान दिवसको अवसरमा पाँच जना कैदीबन्दी रिहा भएपछि दुईजना बाँकी रहनुभएको हो ।

 मनाङ हाल एउटा घर भाडामा लिएर कारागार सञ्चालन गरिदै आएको छ साे कारागारमा १० जना केदीबन्दी राख्न सकिने क्षमता रहेको छ । हाल २५ जना क्षमताको नयाँ भवन निर्माण भएको छ । उक्त भवनमा बाढी प्रभावित नागरिक राखिएको छ । कारागारमा जेलर, अहेब पद रिक्त छ । हाल एकजना खरिदार र तीन जना कार्यलय सहयोगी रहेका छन् । प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना सुरक्षाकर्मी खटिएका जनाइएकाे छ । 

यार्सागुम्बा संकलन गर्न मनाङको नारस्थित लेक पुगेका सात जना गोरखालीको हत्या गरी मनाङ कारागारमा कैद भुक्तान गरिरहेका पाँच जनाको असोज ३ गते कैद मिनाहा भएको थियो । २०६६ साल असार २६ मा यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका सात जनाको सामूहिक हत्या गरेको अभियोग लागेर कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरेहका पाँच जनालाई संविधान दिवसको दिन आइतबार कैद मिनाह गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेकाअनुसार ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका उनीहरुको असल चालचलनको आधारमा कैद मिनाह गरिएको हो । तोकिएकोभन्दा उनीहरुले आधा बढी सजाय भुक्तान गरिसकेको बताइएको छ । पाँच जनाले करिब ६१ प्रतिशत कैद भुक्तान गरेको उहाँले बताउनुभयो ।

कैदी बन्दीको असल व्यवहारका आधारमा कैद मिनाहका लागि सिफारिस गरिएको र सोहीअनुसार कैद मिनाहा भएको प्रजिअ लामिछानेले बताउनुभयो । कारागारका निमित्त जेलर गणेश न्यौपानेकाअनुसार कैदमुक्त हुनेमा नार्पाभूमि गाउँपालिका १, नारगाउँ (साविक नार गाविस) का सोनाम लामा, छो सेनाम लामा, नङ्गा धावा लामा, ङिमा छवाङ लामा, कर्मा वाङ्गेल लामा र कर्मा वाङ्गेल लामा रहेका छन् । २० बर्ष कैद तोकिएको उनीहरुमध्ये ४ जनाको ७ बर्ष ९ महिना २४ दिन कैद कट्टा गरिएको कारागारले जनाएको छ । नङ्गा धावा लामाको भने ७ बर्ष ९ महिना १७ दिन कैद कट्टा गरिएको निमित्त जेलर न्यौपानेले बताउनुभयो ।

पाँचै जनाले ६१ प्रतिशत कैद भुक्तान गरेका छन् । उनीहरुलाई ३९ प्रतिशत कैद कट्टा गरिएको र आइतबार कैद मिनाहाको पत्र दिएर विदाई गरिएको छ । मनाङको नारको लेकमा २०६६ जेठमा ७ जना गोरखालीको हत्या भएपछि उक्त क्षेत्रमा बाहिरी जिल्लाका वासिन्दालाई यार्सागुम्बा संकलनमा प्रतिवन्ध लगाएको छ । स्थानीय तह, प्रशासन, एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समितिले बैठक राखेर यार्सागुम्बा संकलनस्थलमा सुरक्षा व्यवस्था कडाई पार्दैआएको छ ।

तपाईको प्रतिक्रिया