भारतबाट प्याज आयात सहजभएकाले मूल्य बढ्ने सम्भावना छैन : व्यापारी

  असोज ०६, २०७८

काठमाडौं, असोज ६ : दशैं तिहार ताका बजारमा प्याजको माग बढ्ने गर्छ । नेपाली बजारमा यस वर्षपनि प्याजको मूल्य आकासिने सम्भावना रहेको चर्चा सुरु भए पनि सरकारी निकायले तत्काललाई भने त्यस्तो कुनै सम्भावना नरहेको बताएका छन् । नेपाली बजारमा प्याजको ठूलो मात्रा भारतबाट आयात हुने गर्छ । यस वर्ष पनि भारतमा प्याज महंगो हुने अनुमान गरिएको छ । जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिने आशंका गरिएको छ ।

गत वर्ष भदौ अन्तिममा भारतले प्याजको निर्यात रोकेपछि नेपालमा प्याज अभाव भएको थियो भने व्यापारीले प्याजमा मनोमानी शुरु गरेका थिए । गत वर्ष प्याज महंगिए र प्रति किलो १२० रुपियाँसम्म पुगेको थियो ।तर, भन्सार विभागले यस वर्ष नेपाली बजारमा प्याजमा मूल्य वृद्धि हुने सम्भावना नरहेको जनाएको छ । भारतीय सञ्चारमध्यमले यस वर्ष पनि प्याजको मूल्यले उपभोक्तालाई रुवाउन सक्ने जनाइरहेको बेला भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले भारतबाट प्याज आयात भइरहेको कारण प्याजमा मूल्य वृद्धि सम्भावना नरहेको बताउनुभयो ।

‘भारतीय सञ्चारमाध्यहरुले प्याज महंगो हुने अनुमान गरे पनि अहिले त्यो खालको अवस्था छैन । किन भने भारतले प्याजमा प्रतिबन्ध लगाएको छैन,’ निर्देशन खड्काले भन्नुभयो, ‘गत वर्ष प्रतिबन्धको कुरा थियो । जसले गर्दा प्याजको मूल्य आकासिएको थियो । उत्पादन घटेर बजारमा मूल्य आकासिन थालेपछि आन्तरिक माग धान्न गाह्रो पर्ने भन्दै भारतले प्याज निर्यातमा रोक लगाएको थियो । तर अहिले त्यो खालको अवस्था छैन ।’

विभागले आर्थिक वर्ष ०७७/७८ मा भारतबाट करीब एक लाख २७ हजार मेट्रिक टन प्याज आयात भएको छ । यसैगरी चालू आर्थिक वर्ष ७८/७९ मा एक लाख २६ हजार नौ सय मेट्रिकटन प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार साउनमा मात्रै १३ हजार ७१४ मेट्रिक टन प्याज भारतबाट नेपाल भित्रिएको छ । साथै चीनबाट पनि साउन महिनामा १० मेट्रिकटन प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यता कृषि विभागका वागवानी विकास अधिकृत मधुसुदन घिमिरेले आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा दुई लाख ८५ हजार ९२६ मेट्रिक टन प्याज उत्पादन भएको जानकारी दिनुभयो । भन्सार विभागका निर्देश पुण्यविक्रम खड्काले नेपालमा उत्पादन कम हुने हुँदा प्याजका लागि भारतको भर पर्नुपरेको बताउनुभयो ।

यता काठमाडौंको मुख्य तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भदौ महिनामा कालीमाटी तरकारी बजारमा दुई हजार ९८५ मेट्रिक टन भित्रिएको बताउनुभयो । सूचना अधिकारी श्रेष्ठले यो पटक दशैं तिहारमा ज्याज अभाव हुने सम्भावना नदेखिएको बताउनुभयो । ‘अघिल्लो वर्ष भारतले प्याज आयातमा प्रतिबन्ध गरेको थियो । यो पटक अहिले त्यो किसिमको संकेत देखिएको छैन । त्यसले गर्दा यो पटक समस्या नहोला,’ उहाँले भन्नुभयो,‘नेपालमा प्याज भित्रिने भारतबाटै हो । भारतबाट प्याज आयात भइरहेको छ । जसले गर्दा अहिलेसम्म त्यो किसिमको समस्याहरु र समस्याका संकेतहरु देखिएको छैन । यसले गर्दा यो पटक समस्या नहोला ।’

उहाँले दुई हजार ९८५ मेट्रिक टन भनेपछि कालिमाटी तरकारी बजारमा दैनिक भारतबाट एकसय टनको हाराहारीमा प्याज नेपाल भित्रिरहेको बताउनुभयो । दशैंलाई लक्षित गर्ने हो भने अहिलेको भन्दा बढी प्याज भित्रिन सक्ने उहाँको अनुमान छ । तर भारतमा प्याज अभाव भयो भने नेपालमा पनि अभाव हुने उहाँले बताउनुभयो । ‘हाम्रो आन्तरिक उत्पाद धेरै छैन । प्याज आयात हुने भारतबाटै हो । भारतले प्याज आयातमा प्रतिबन्ध गर्यो भने यहाँ अभाव हुन सक्छ । यदि प्रतिबन्ध नगरेर मूल्य वृद्धि गर्यो भने यहाँ पनि प्याजमा मूल्य वृद्धि हुन सक्छ,’ उहाँले भन्नुभयो । नेपाल प्याजको लागि भारतमै निर्भर रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

भारतीय सञ्चारमाध्यम आजतकले भारतमा प्याज मूल्य वृद्धि हुने मुख्य कारण मनसुन रहेको जनाएको छ । मनसुनका कारण प्याजको बाली तयारी हुन समय लागिरहेको आजतकले जनाएको छ । जसका कारण यसवर्ष पनि प्याजको मूल्य उच्च हुने जनाएको छ । चक्रवातका कारण प्याजको बफर स्टकको अवधिमा पनि कमी भइरहेको छ । जसले प्याजको मूल्यमा असर पर्ने आंकलन गरिएको छ । क्रिसिल रिसर्चको एक रिपोर्टअनुसार अक्टोबर–नोभेम्बरमा प्याजको मूल्य उच्चस्तरमा पुग्ने देखिएको छ ।

भारत प्याजमा संसासकै ठूलो निर्याकर्तामध्ये एक हो । भारतले आफ्नो मुलुकमा प्याजको आपूर्ति कम भएपछि प्याज नियात रोक्दै आएको छ । भारतमा हरेक महिना औसत १३ लाख टन प्याज खपत हुने जनाइएको छ । यसअघि भारतले सन् २०२० र २०१९ मा प्याजको निर्यात बन्द गरेको थियो । क्रिसिल रिसर्चको रिपोर्टअनुसार २०१८ को तुलनामा प्याजको मूल्य करिब एकसय प्रतिशतसम्म वृद्धि हुनसक्छ । मनसुनका कारण महाराष्ट्रमा प्याजको बालीको रोपाईमा समस्या आएको थियो । सन् २०२० को तुलनामा यसपाली एकदेखि पाँच प्रतिशतसम्म प्याजको उत्पादन घट्ने अनुमान गरेको छ ।

सन् २०१८ प्याजको मूल्यको मामलामा एक सामान्य वर्ष मानिन्छ । तबदेखि यो एकस्थिर वृद्धि देखिएको छ । सन् २०२० मा पनि प्याजको मूल्य सन् २०१८ को तुलनामा झण्डै दोब्बर भएको थियो । सोमबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतीय प्याजको मूल्य न्यूनतम् ४४ रुपियाँ, अधिकतम् ४६ रुपियाँ र औसत ४५ रुपियाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया