विश्व बैङ्कसँग थप सहयोगको आग्रह

  असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : अर्थमन्त्री जनार्दन शर्माले सरकार सम्पूर्ण नागरिकलाई कोभिड–१९ महामारीविरुद्धको खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानमा केन्द्रित भएकाले थप सहयोगका लागि विश्व बैङ्कसँग आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा सोमबार विश्व बैङ्कको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले महामारी नियन्त्रणका लागि विश्व बैङ्कको थप सहयोग आवश्यक रहेको बताउनुभएको हो ।

“सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थानतर्फ अगाडि बढ्न अग्रसर छ । यसमा विश्व बैङ्कको थप सहयोग र सहकार्यको अपेक्षा छ,” उहाँले भन्नुभयो । नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएकाले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन पनि विश्व बैङ्कको सहयोग रहने उहाँले विश्वास व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले बैङ्कले नेपाललाई पु-याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गर्नुभएको थियो । “विश्व बैङ्कले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो, “कोभिड–१९ सङ्क्रमणको समयमा बैङ्कले आपत्कालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेकामा धन्यवाद दिन चाहन्छु ।”

भेटका अवसरमा विश्व बैङ्कका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको आगामी संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि पनि अनुरोध गर्नुभयो ।
बैङ्कका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैङ्कको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गर्नुभयो । उहाँले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैङ्कले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया