हाइड्रोजन उत्पादनका लागि नीतिको माग

  असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : नेपालमा हाइड्रोजन उत्पादनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरोकारवालाले सरकारसमक्ष आग्रह गरेका छन् । विश्वमा ऊर्जाको महत्त्वपूर्ण वैकल्पिक स्रोतका रूपमा हाइड्रोजन स्थापित भइसकेको भन्दै उनीहरूले नेपालमा पनि यसको व्यावसायिक उत्पादनको वातावरण बनाउन माग गरेका हुन् ।

नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययनमा जुटिरहेको काठमाडौँ विश्वविद्यालयले सोमबार आयोजना गरेको अन्तक्र्रियामा सहभागीले यस्तो आवश्यकता औँल्याएका हुन् । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालमा हाइड्रोजन उत्पादनको पर्याप्त सम्भावना रहेको आँैल्याउँदै यसको खपतको योजना बनाउनसमेत ढिला गर्नु नहुने बताउनुभयो । नेपालमा हरित हाइड्रोजन उत्पादन हुने भएकाले वैकल्पिक ऊर्जाको मान्यता दिएर बजेट विनियोजनसमेत गर्नुपर्ने उहाँको भनाइ थियो ।

निजीक्षेत्रको लगानी पनि यो क्षत्रमा ल्याउन सकिने उहाँको सुझाव थियो । नेपाल आयल निगमका उपमहानिर्देशक सुशील भट्टराईले पनि खनिज इन्धनको व्यवसायलाई प्रतिस्थापन गर्दै वातावरणमैत्री हाइड्रोजन उत्पादनमा पर्याप्त ध्यान दिनुपर्ने औँल्याउनुभयो । नेपाल आयल निगमको सहयोगमा केयूले नेपालमा हाइड्रोजन उत्पादन तथा बजारको सम्भाव्यता नीतिगत तथा कानुनी व्यवस्थापनलगायतका विषयमा अध्ययन गरिरहेको छ । केयूले यसबारे अध्ययनलाई प्रभावकारी बनाउने भन्दै हाइड्रो ल्याब स्थापना गरेर प्राज्ञिक अध्ययन अध्यापनसमेत गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया