लयमा फर्किंदै पर्वतारोहण, शरदयामका लागि २३० जनाले लिए अनुमति

  असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : कोरोना सङ्क्रमणका कारण प्रभावित पर्वतारोहण बिस्तारै लयमा फर्किन थालेको छ । यसअघि वसन्तयाममा हिमाल आरोहणका लागि सबैभन्दा धेरै सङ्ख्यामा अनुमति दिइएकोमा शरदयामको आरोहण पनि उत्साहजनक देखिएको छ ।

असोज र कात्तिक महिनामा हुने उक्त आरोहणका लागि अहिलेसम्म २३० जनाले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अहिलेसम्म शरदयामका लागि विभिन्न छवटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ । विभिन्न २५ वटा आरोहण दलअन्तर्गत १७८ जना पुरुष र ५२ जना महिलाले अनुमति लिएको विभागले जनाएको छ ।

विभागबाट अहिलेसम्म सबैभन्दा धेरै मनास्लुका लागि १३३ जना पुरुष र ३८ जना महिला गरी कुल १७१ जनाले अनुमति लिएका छन् । त्यसपछि धौलागिरिका लागि २८ जना पुरुष र १३ जना महिला गरी ४० जनाले अनुमति पाएका छन् । मरियाङ हिमालका लागि सात जना पुरुष र एक जना महिलाले अनुमति पाएको विभागले जनाएको छ ।

कुम्भकर्ण हिमालको आरोहणका लागि पाँच जनाले अनुमति पाएको विभागले जनाएको छ । अनुमति पाउने सबै पुरुष हुन् । कञ्चनजङ्घा र पुठा हिमचुलीका लागि समान तीन÷तीन जनाले अनुमति पाएका छन् । यी हिमाल आरोहणका लागि प्रदान गरिएको अनुमतिबापत विभागले करिब दुई करोड ३१ लाख रुपियाँ रोयल्टी सङ्कलन गरेको छ ।

मनास्लु हिमालबाट मात्रै एक करोड ८१ लाख रुपियाँ रोयल्टी सङ्कलन भएको पनि विभागले जनाएको छ । हिमाल आरोहणका लागि पर्वतारोहीले पर्याप्त समय लिएर आउने भएकाले पनि कोरोना सङ्क्रमणको असर यस क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको सरोकारवालाले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया