३५ वर्षपछि जोडियो सहजपुर–बोगटान सडकको ट्र्याक

  असोज ०४, २०७८

डोटी, असोज ४ : जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु तीन करोड ८३ लाखका लागतमा सो सडक निर्माण गरिएको थियो ।

बहुप्रतिक्षित बोगटान सडकको ट्र्याक आइतबार जोडिएपछि यहाँका नागरिकमा निकै खुसियाली छाएको छ । उक्त सडक खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरुपमा निर्माण गरेका थिए । विसं २०४३ देखि सडक निर्माण सुरुआत भएको बताइएको छ । बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलले भन्नुभयो, “वर्षौं पछिे सडकको ट्र्याक जोडिएको छ, अब हामीले पनि घरैमा गाडी चढ्न पाउने भए, योभन्दा अरु खुसी के नै होला र ।”

बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले अगामी दिनमा सडकको स्तोन्नतिका लागि गाउँपालिकाले लगानी गर्ने बताउनुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास योजना ताकिएकै समयमा निर्माण सम्पन्न गर्न पटकपटक निर्देशन दिनुभएको थियो ।

सो गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले भन्नुभयो, “मुख्यमन्त्रीज्यूले पनि तोकिएको समयमा काम नसके कारबाही गर्ने निर्देशन दिनुभयो, हामीले पनि पालिकाको तर्फबाट आवश्यक सहयोगसहित अनुगमनलाई तीव्र बनाएपछि काम सम्पन्न भएको हो ।’ प्रदेश सरकारको प्रदेश गौरवको सडकमा समेत समावेश भएको सहजपुर–बोगटान सडकको ट्र्याक जोडिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “कच्ची ट्र्याक जोडिएको छ, अब कालोपत्रका लागि पहल गर्नुपर्छ ।”

कैलालीको सहजपुर, विपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुर जोडिने उक्त सडकको ट्र्याक जोडिएपछि यहाँका नागरिकलाई आवागमनमा सहज भएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “कच्ची ट्रयाक जोडिएको छ, यहाँका हजारौँ नागरिकलाई यातायात सुविधासहित राहत हुने भएको छ ।” उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडिकेदार, केआइसिंह, जोरायल गाउँपालिकाका तथा दिपायल सिलगढी नगरपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् भने अब यहाँका किसानले उत्पादन गरेका वस्तुले बजार पाउने भएका छन् ।

सडक सञ्जाल जोडिएपछि उत्पादित वस्तुले बजार पाउने र किसानको आयस्तर वृद्धि हुने जनाउँदै किसान बढी खुसी भएको स्थानीयवासी टक्करबहादुर कलेलले बताउनुभयो । जिल्लाको बोगटान क्षेत्र अदुवा, अमिलो, बेसार ९हल्दी० तथा सुन्तला उत्पादनका लागि प्रख्यात ठाउँका रूपमा चिनिँदै आएको छ । यो सडक डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा पुरानो र ठूलो सडक हो । विसं २०१५ पछि धनगढीबाट दिपायलका लागि यो सडक काम सुरु गरिएको थियो ।

‘धनगढी–दिपायल (डिडी) सडक’ को नामले निर्माण सुरु भएको सडक विगतमा पहुँचका आधारमा ‘धनगढी–डडेल्धुरा–दिपायल (डिडीडी)’ नामकरण गरेर निर्माण गरिएको नेपाली कांग्रेस नेता दीपककुमार विष्टले जानकारी दिनुभयो । विसं २०४३ मा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साविकका दश गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हाल प्रदेश सभासदस्य भरतबहादुर खड्काले उक्त सडकको शिलान्यास गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया