मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणका लागि एक अर्ब

  असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको पुनर्निर्माणलाई अगाडि बढाउन सरकारले समितिलाई तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराएको जानकारी दिनुभयो ।

यसअघि मेलम्ची खानेपानी विकास समितिले चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने कार्ययोजना सरकारलाई बुझाएको थियो । समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरणका लागि दुई अर्ब रुपियाँ मागसहितको कार्ययोजना सरकारसमक्ष पेस गरेको थियो ।

सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता भएसँगै सम्बद्ध निकायहरूसँग छलफल गरी आयोजनाको काम अगाडि बढाउने तयारी भइरहेको प्रवक्ता पन्तले बताउनुभयो । सकेसम्म यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । बर्खा सकिनेबित्तिकै आयोजनाको पुनर्निर्माणको काम सुरु गरिने बताउँदै उहाँले मेलम्चीमा बाढीपहिरोको जोखिम कायमै रहेकाले तत्काल काम अगाडि बढाउन सम्भव नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले आयोजनाको मुहानसम्म पुग्ने वैकल्पिक सडक निर्माण भइरहेको छ । अबको एक महिनाभित्र सो सडक तयार हुनेछ । सो सडक तयार भएपछि आयोजना स्थलमा पुगेर काम अगाडि बढाउन सजिलो हुनेछ ।” आयोजनाको मुख्य सुरुङ पूर्ण रूपमा सुरक्षित रहेकाले निराश हुनुपर्ने अवस्था नरहेको उहाँले दाबी गर्नुभयो ।

मेलम्चीको पानी काठमाडौँ ल्याउन तत्काल दुईवटा अस्थायी सुरुङ र हेडवक्र्सको मर्मत तथा पुल निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । आयोजना स्थल पुग्न मुख्य प्रवेश मार्गमा तीनवटा र अम्बाथान क्षेत्रमा पाँचवटा पुल निर्माण गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “यसअघि जुन प्रणालीबाट पानी ल्याइएको थियो, सोही प्रणालीबाट पुनः पानी ल्याउन सकिन्छ तर त्यसका लागि सबैभन्दा पहिले अम्बाथानमा रहेको ‘अडिट टनेल’ र ‘डाइभर्सन टनेल’ सफा गर्नुपर्ने हुन्छ ।” अम्बाथानमा रहेको २९८ मिटर अस्थायी ‘डाइभर्सन टनेल’लाई सफा गर्नुपर्ने देखिएको छ । असार १ गते आएको बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो ।

तपाईको प्रतिक्रिया