विद्यार्थीलाई घरैमा बस, घण्टौं हिँडेर विद्यालय जानुपर्ने बाध्यता हट्यो

  असोज ०२, २०७८

लमजुङ, असोज १ : लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा अर्चल्यानीस्थित संस्कृति सदन माध्यमिक विद्यालयले विद्यालय बस सञ्चालन गरेको छ । विद्यालयमा अध्ययरनत विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै विद्यालयले शुक्रबारबाट विद्यालयमा बस सञ्चालन गरेको हो ।

साना बालबालिका घण्टाैं लगाएर विद्यालय आउनुपर्ने समस्याको समाधानका लागि विद्यालय बस सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक शिवशंकर तिवारीले बताउनुभयो । उहाँका अनुसार यसअघि विद्यार्थीहरु एकदेखि डेढ घण्टाको बाटो हिँडेर विद्यालय आउने गरेका थिए ।
वडा नं. १० धुसेनीको कोइरालाफाँट, वडा नं. ३ चन्द्रेश्वरको किरिञ्चेबेंसी, लामिखेत लगायतको ठाउँबाट विद्यार्थी विद्यालयमा आउने गर्छन् । साना बालबालिकालाई लामो समयसम्म पैदल हिँड्न गाह्रो भए पछि विद्यालयले बस सञ्चालन गर्ने अभियान चलाएको बताउनुभयो ।

‘विद्यालयमा पढ्न टाढाबाट पनि बालबालिका आउँछन् । उनीहरुले आफूभन्दा गह्रौं झोला बोकेर आउनुपर्ने बाध्यता छ । टाढाबाट आउँदा विद्यार्थीलाई थकान महसुस हुने भएकाले पठनपाठनमा ध्यान नजाने अभिभावकले गुनासो गर्नुभयो’ उहाँले भन्नुभयो, ‘विहान छिट्टै पठाउनुपर्ने र बेलुका अबेरसम्म नआउँदा चिन्ता थपिएको अभिभावकले सुनाउने गरेपछि हामी अभियानमा लागेका हौं र सफल पनि भएका छौं ।’

विद्यालयमा बालबालिकाका अभिभावक आएर रुने गरेकाले पनि विद्यालयले बस सञ्चालनको आवश्यकता महसुुस गरेर सहयोग संकलन गरी बस सञ्चालन गरेको प्रधानधयापक तिवारीले बताउनभुयो । कति अभिभावकले बस सञ्चालन नभएमा छोराछोरी विद्यालय पठाउन नसक्ने समेत बताउन थाले पछि र पटकपटक बसको माग गरेपछि यसतर्फ लागेको उहाँले बताउनुभयो । शुक्रबार विद्यार्थीलाई बसमार्फत विद्यालय लगिएको थियो ।

वडा नं. ४ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज खनियाका अनुसार बालबालिकाको समस्या र अभिभावकको माग अनुसार ३६ सिट क्षमताको विद्यालय बस सञ्चालन गरिएको हो । बस संचालन गर्न गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय अभिभावकले सहयोग गरेका छन् ।

बस सञ्चालन अभियानका लागि स्थानीयबाट ३८ लाख ८१ हजार एक सय ३९ रुपियाँ चन्दा संकलन भएको थियो । वडा नं. ४ को कार्यालयबाट १२ लाख ५० हजार रुपियाँ, गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा प्रदेश सरकारबाट छ लाख ९० हजार सात सय पाँच रुपियाँ, सुन्दरबजार नगरपालिकाबाट पाँच लाख रुपियाँ गरी ६३ लाख २१ हजार आठ सय ४४ रुपियाँ संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया