भूपेन्द्र पटेलले भारतको गुजरात राज्यका मुख्यमन्त्रीको शपथ लिनुभयो

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : भारतीय जनता पार्टीका नेता भूपेन्द्र पटेल भारतको गुजरात राज्यका मुख्यमन्त्रीको शपथ लिनुभएको छ । शपथ समारोह लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले उहाँको कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

गुजरातमा आयोजित एक समारोहका बीच उहाँले मुख्यमन्त्री पदको शपथ राज्यका गभर्नरबाट लिनुभएको हो । उक्त अबसरमा भारतीय जनता पार्टीको सरकार रहेको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरसमेत उपस्थित हुनुहुन्थ्यो ।

पटेल गुजरात राज्यको १७ औं मुख्यमन्त्री हुनुभएको छ । अहमदाबादमा जन्मिनुभएका ५९ वर्षीय पटेल गुजरातको घाटलोदिया विधान सभा क्षेत्रबाट सन् २०१७ मा पहिलो पटक विधायक निर्वाचित हुनुभएको थियो ।

उहाँले सन् २०१७ को विधान सभा चुनाबमा एक लाख १७ हजार मतले निर्वाचित हुनुभएको थियो । जुन मतदानमा खसेको कुल मतको करिब ७२ प्रतिशत हो । गुजरातको चुनावसँगै सामाजिक आर्थिक गतिविधिमा अत्यन्तै महत्वपूर्ण मानिएको पटिदार जातिको उहाँ प्रतिनिधित्व गर्नुहुन्छ ।

सन् २०२२ मा गुजरातमा विधान सभाको चुनाव हुँदैछ । सन् २०१७ को विधान सभा चुनावमा भारतीय जनता पार्टीले कुल १८२ सिटको विधान सभामा ९९ सिट जितेको थियो । यसअघि गत शनिबार विजय रुपणाीले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया