मध्यपहाडी लोकमार्ग कालोपत्रेको तयारी

  भदौ २८, २०७८

बागलुङ, भदौ २८ : मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड अन्तर्गत उपल्लचौरदेखि बोक्से खाल्टोसम्मको सडक दशैसम्म कालोपत्रे गर्ने तयारी भएको छ । लोकमार्ग ठेकेदार कम्पनीले जिरो किलो मिटर उपल्लाचौरदेखि अक्षेतेतर्फको साढे तीन किलो मिटर सडक असोज दुई गतेदेखि कालोपत्रे गर्ने गरी सडक संरचना तयार गरेको हो । कालोपत्रेको लागि आवश्यक जनशक्ति, कच्चा पदार्थ र सडक सब बेसको काम सकिएको छ ।

उक्त खण्ड यस वर्षको बर्खा सुरु हुनु अघि नै कालोपत्रे गर्ने तयार भए पनि छिटो मनसुन सक्रिय हुँदा काम प्रभावित भएको थियो । बर्खाको समयमा ग्याविनवाल, नाली निर्माण, पहरो कटान, सडक चौडा तथा बढी हिलो र पहिरो खसेको क्षेत्रमा सवारी सञ्चालन हुन सक्ने गरी सडक मर्मतको काम गरेको उपल्लाचौर–अक्षते खण्डको निर्माण कम्पनी भारत/सिद्धिसाई जेभीका प्रोजेक्ट म्यानेजर  शिव लामिछानेले जानकारी दिनुभयो ।

भारत/सिद्धिसाई जेभीले उपल्लाचौरदेखि अक्षतेसम्मको १३ किलो मिटर सडक कालोपत्रेको जिम्मेवारी लिएको छ । ‘दशैं अघि साढे तीन किलो मिटर सडक कालोपत्रे छौँ’ लामिछानेले भन्नुभयो–‘बाँकी खण्ड दशै पछि कालोपत्रे गर्ने गरी काम भएको छ । अक्षतेदेखी घोडाबाँधेसम्मको १२ किलो मिटर सडक कालोपत्रेको जिम्मेवारी एमपी/एससिएफ/इसिसिले लिएको छ । जिरो किलो मिटर उपल्लाचौरदेखि घोडाबाँधेसम्म २५ किलो मिटर सडक कालोपत्रे गर्न बाँकी छ । माथिल्लो क्षेत्रको घोडाबाँधेदेखि रिचालचोक प्रहरी चौकीसम्मको सडक कालोपत्रे भए पछि अन्य खण्ड बाँकी छ । 

तल्लो खण्डको सडक विस्तार तथा कालोपत्रेको लागि बीचबीचमा पर्ने घर र खानेपानी पाइप मुख्य समस्याको रुपमा रहेको प्रोजेक्ट म्यानेजर लामिछानेले बताउनुभयो । तल्लो खण्डमा बोक्सेको पहिरो ठूलो समस्याको रुपमा छ । उक्त क्षेत्रमा हरेक वर्ष पहिरो खस्ने गरेको छ । बोक्सेमा पहिरो जानुको मुख्य कारण सडकदेखि माथिको बस्तीमा रहेको स्थानीयले सडकतर्फ पानी लगाउने गरेको लामिछानेले बताउनुभयो । ‘पहिरो जाने गरी पानीको धारा परिवर्तन गरेर लगाउने गरेका छन’ उहाँले भन्नुभयो–‘सडक भत्काउने उद्देश्यले पानी लगाएपछि के गर्न सकिन्छ । स्थानीयले लुकिछिपी पानी सडकतर्फ खसाल्ने गरेको भिडियो आफुसँग सुरक्षित भएको उहाँको भनाइ छ । 

पहिरो रोकथामको लागि माथिदेखि नै चेकड्याम निर्माण गर्नुका साथै बोक्से खाल्डोको तीन सय मिटर सडक ढलान गर्नुपर्नेछ । चेकड्याम निर्माण गरे पनि पानी नरोकिए समस्या समाधान हुँदैन । खोलामा बग्ने पानीको धार परिवर्तन गरी बाटोमा लगाउने गरेको लामिछानेले गुनासो गर्नुभयो । आरसिसि ढलान गर्न करिब दुई करोड रुपियाँ थप खर्च लाग्ने अनुमान छ । 

काठेखोला गाउँपालिका–१ खहरे खण्डको ढाँडबारी, अक्षते बजार र बागलुङ नगरपालिकाको खहरे घुम्तीको घर मापदण्ड अनुसारको सडक विस्तारमा मुख्य समस्या हुन् । स्थानीयवासी मुअब्जामा समेत जान नमाने पछि समस्या भएको प्रोजेक्ट म्यानेजर लामिछानेले बताउनुभयो । ति क्षेत्रमा कालोपत्रेको लागि तीन मिटर सडक पुर्‍याउन कठिन छ । अक्षते बजारमा मुअब्जा लिएका व्यक्तिले समेत घर खाली गरेका छैनन । 

लोकमार्ग छेउमा रहेका खानीपानी पाइप पनि सडक विस्तारमा समस्याको रुपमा छन् । आयोजनाको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई पाइप हटाउन करिब ३४ लाख रुपियाँ उपलब्ध गराए पनि सबै ठाउँको पाइप व्यवस्थापन भएको छैन । दुवै खण्डका ठेकदारले गतवर्ष मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालयमा जेठभित्र कालेपत्रे सक्ने गरी काम गर्ने लिखित प्रतिबद्धता गरे पनि काम गर्न सकेनन् ।

लोकमार्गको बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । बागलुङको लाइफलाइनको रुपमा जोडिएको सडकमध्ये २५ किलोमिटरको बागलुङ सदरमुकाम खण्ड दुई भागमा विभाजन गरेर ठेक्का भएको थियो ।  समयमै कालोपत्रेको काम सम्पन्न नभएपछि उपभोक्ता मर्कामा परेका छन् । हिउँदमा धुलो र बर्खामा हिलोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसि जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । 

तपाईको प्रतिक्रिया