आइतबारदेखि कञ्चनपुर र राजविराजका विद्यालय सञ्चालन हुने

  भदौ १९, २०७८

कञ्चनपुर, १९ भदौ : कञ्चनपुरमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक संस्थाले पठनपाठन गर्न पाउने भएका छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले भौतिक उपस्थितिमा पठनपाठन गर्न चाहने शैक्षिक संस्थालार्ई स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिको परिधिभित्र रही अनिवार्यरूपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्रै शैक्षिक गतिविधि गर्न दिने निर्णय गरेको हो ।

बैठकपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्वारा जारी गरिएको आदेशमा पहिलो प्राथमिकता सकेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरिएको छ ।

भौतिक उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालन गर्दा त्यसको अनुगमन स्थानीय तहले गर्नुपर्ने र स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए स्थानीय तह आफैँ वा स्थानीय प्रशासनको सहयोग लिई त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने गरी सञ्चालनको निर्णय गर्नसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ । कञ्चनपुर जिल्लामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा क्रमिकरूपमा खुकुलो पारिएको थियो ।

सङ्क्रमणको जोखिम अझै कायम रहेकाले अनावश्यकरूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, सामूहिकरूपमा पूजाअर्चना गर्ने, जात्रा, महोत्सव, भोजभतेर आदिजस्ता गतिविधिलाई निरुत्साहित गरिएको छ । आर्थिक, सामाजिक र व्यावसायिक गतिविधि गर्दा होस् वा सार्वजनिक स्थानमा आवतजावत गर्दा अनिवार्यरूपमा स्वास्थ्यका मापदण्ड अपनाउनु पर्नेछ । अन्यथा जरिवाना गरिने आदेशमा उल्लेख छ ।

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने
राजविराज : सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो । नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवले जारी गर्नुभएको विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया