अब नेपाली भूमिबाटै मानसरोवर कैलाशको दर्शन

  भदौ १०, २०७८

हुम्ला, भदौ १० : पूर्वकार्यतालिकाभन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु जगदीश बासुदेव बुधबार हुम्लामा आइपुग्नुभएको छ । नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न उहाँ हुम्ला आइपुग्नुभएको हो ।

पर्यटन व्यवसायी विजय लामाका अनुसार खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा सद्गुरु एक दिन ढिलो हुम्ला आउनुभएको बताउनुभयो । उहाँ बुधबार काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइजहाजमा आइपुग्नुभएको हो । उहाँसँग अरू दुई जना सहयोगी पनि आउनुभएको छ । सिमकोट विमानस्थलमा ओर्लिएपछि सद्गुरुले सिमकोटलाई निकै सुन्दर ठाउँ भएको बताउनुभयो ।

सद्गुरुलाई विमानस्थलबाट आवाससम्म लैजान मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उहाँ सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर पुग्नुभएको थियो । उहाँलगायत ४६ जना पर्यटक र ५५ जना पर्यटक व्यवसायी एक दिन सिमकोटमै बस्नेछ । बिहीबार बिहानबाट उहाँको टोली लाप्चातर्फको पैदल यात्राका लागि निस्कनेछ । पैदल मार्गबाट लाप्चा क्षेत्र पुग्न टोलीले ११ दिन लगाउने कार्यक्रम छ । सद्गुरुले प्रत्येक बास बस्ने स्थानमा दुई रात बिताउने बताइएको छ ।

टोली नाम्खा गाउँपालिका–१ को लेकधिङ्गामा बास बस्नेछ भने अर्को बास चार हजार आठ सय मिटर अग्लो स्थान सेलिबाङ तालमा बस्नेछ । यस्तै अर्को बास भने लिमीको ताक्चीमा बस्ने व्यवस्था गरिएको छ । दैनिक चार घण्टा मात्र पैदल यात्रा गर्ने पर्यटकको टोलीले यी बास बस्ने स्थानमा दुई रात बिताउनेछ ।

११औँ दिनमा लाप्चा क्षेत्रमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कार्यतालिका रहेको छ । नेपाली भूमिबाट दर्शन गर्ने र मौसममा खराबी आए दुई दिन ढिलो पनि हुनसक्ने जनाइएको छ । मानसरोवर कैलाशको दर्शनपछि लाप्चा क्षेत्रबाट हेलिकप्टरमा टोली सिमकोट फिर्ता हुनेछ । यात्राका क्रममा पैदल, गाडी, मोटरसाइकल र घोडामा यात्रा गर्ने तयारी गरिएको छ । यसका लागि २५ जना स्थानीय भरिया पनि तयार गरिएको छ ।

११औँ दिनमा लाप्चा पुगेर टोलीले कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम रहेको छ । अब सद्गुरुको मानसरोवर कैलाशको यात्रा एक दिन पछि धकेलिएको छ । यसअघि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका गुरुसँग जाने पर्यटक सिमकोट आइसक्नुभएको छ । उहाँहरू सबै खेल मैदानमा त्रिपालको व्यवस्था गरी बस्नुभएको छ । सद्गुरुसँग मानसरोवर कैलाशको दर्शन जाने टोलीमा भारत, अमेरिका, फ्रान्स, रुस, कोरिया, मलेसिया, जर्मन, अस्ट्रेलियालगायतका रहेका छन् ।

सिमकोट उत्रेका पर्यटकलाई होटेल व्यवसायी विजय लामाले खादा लगाएर विमानस्थलमा स्वागत गर्नुभएको थियो । कोरोना सङ्क्रमणका कारण पर्यटकलाई सिमसार क्षेत्र र खेल मैदानमा बस्नका लागि त्रिपालको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया