क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्वकप्तान खड्का

  साउन २०, २०७८

काठमाडौँ, साउन २० : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गर्नुभएका उहाँले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । “म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो”, पारसले भन्नुभयो ।

उहाँले दुई वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचिरहेको र अहिले त्यही सोचलाई कार्यान्वयन गरेको बताउनुभयो । उहाँले सन्न्यासबारे सोचे तापनि क्रिकेट टोलीलाई सहयोग गर्नुपर्छ भनेर बसेको बताउनुभयो ।

पूर्वकप्तान पारसले कप्तान र खेलाडीका रुपमा आफूले गर्नसक्ने योगदान राष्ट्रिय टोलीबाट पूरा गरेको बताउनुभयो । “क्रिकेटले नै मलाई सबथोक दिएको छ । सबै कुरा पाएको छु । यति हुँदाहुँदै पनि सन्यासका लागि यो सही समय हो भनेर निर्णय लिएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले एकदिवसीय मान्यतालाई अहिले जोगाइराख्ने चुनौती नेपाली क्रिकेट सामु रहेको बताउँदै केही समयमै क्रिकेट एकेडेमीको शुरुआत गरेर देशभर लैजाने योजना रहेको बताउनुभयो ।

अलराउण्डर पारसले सन् २००४ मा राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । उहाँ त्रिवि क्रिकेट मैदानमा अप्रिल २३ का दिन आइसिसी अन्तरमहादेशीय कपमा मलेसियाविरुद्धको खेलबाट सिनियर टोलीमा सहभागी हुनुभएको थियो ।

सन् २००९ मा कप्तानीको भूमिका निर्वाह गर्नुभएको खड्का सन् २०१९ मा कप्तानी पद छोड्नुभएको थियो । उहाँले विनोद दासको स्थानमा कप्तानीको भूमिका निर्वाह गर्नुभएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको एसिसी टि–ट्वान्टी ट्रफीबाट पारसले नेपाली टोलीको कप्तानी सम्हाल्नुभएको थियो ।

नेपाली क्रिकेटका सफल कप्तानका रुपमा चिनिनुभएका खड्काले आफ्नै कप्तानीमा नेपालले डिभिजन पाँचदेखि तीनसम्मको उपाधि हात पार्न सफल भएको थियो । उहाँकै कप्तानीमा नेपालले सन् २०१८ मा पहिलो पटक ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।

त्यसैगरी सन् २०१४ मा बङ्गलादेशमा भएको टी–ट्वान्टी विश्वकपमा खड्काकै कप्तानीमा नेपालले प्रतिस्पर्धा गरेको थियो । खड्काले नेपालका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय र ३३ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खल्नुभएको छ ।

दाँयाहाते ब्याटस्म्यान उहाँले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाउनुभयो भने टी–२० मा ७९९ रन बनाउनुभएको थियो । दुवै किसिमका प्रतियोगितामा उहाँ शतक प्रहार गर्न सफल हुनुभएको थियो । खड्काले उत्कृष्ट बलिङसमेत गर्नुभएको थियो । उहाँले १० एकदिवसीय खेलमा नौ विकेट लिनुभएको थियो भने ३३ टी–२० खेलमा आठ विकेट लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया