दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिले काम थाल्यो

  साउन २०, २०७८

दार्चुला, साउन २० : महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईनको डोरी फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले दार्चुला पुगेर काम थालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले बुधबार दिनभरि घटनाका प्रतक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल लगायतसँग छलफल गरेको छ ।

मंगलबार बेलुकी दार्चुला पुगेको समितिमा संयोजक गौतमसँगै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेका छन् । समितिले घटनास्थलमा जानुभन्दा पहिले दार्चुला सदरमुकाम खलंगामा प्रत्यक्षदर्शीहरुलाई भेटेर बयान लिनुका साथै सरोकारवालाहरुका सुझाब समेत संकलन गरेको छ । छलफलमा सहभागि पत्रकार र मानवअधिकारकर्मीहरुले घटनालाई तोडमोड नगरेर सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गरेका छन् ।

समितिले घटनास्थल पुगेर फर्किएका सुरक्षाकर्मी र जिल्लास्थित अन्य सरकारी अधिकारीसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो । घटनास्थल पुगेका ती अधिकारीसँग गृहको छानबिन समितिले थप विवरण लिएको छ । सरोकारवालाहरुसँगको छलफलको क्रममा समिति संयोजक गौतमले सत्यतथ्यको नजिक पुगेर घटनाबारे वास्तविक प्रतिवेदन सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । तुइन तर्दै गर्दा एसएसबीका जवानले डोरी फुकालिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । तीन दिनदेखि प्रतक्षदर्शीहरुलाई समेत सम्पर्क विहिन बनाइएको छ । छानबिन समितिको प्रतिवेदनपछि सरकारले यसबारे थप निर्णय लिने गृहमन्त्री बालकृष्ण खाणले बताउनुभएको छ । जिल्लस्तरीय छानबिन टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रंकोलीलाई खलङ्गा पु¥याइएको छ । प्रत्यक्षदर्शीलाई सुरक्षा दिई अन्यसँग भेटघाट गर्न दिइएको छैन । कल्याणले २१ वर्षदेखि त्यहीं तुइन सञ्चालन गर्दै आउनुभएको छ । अनिता र विक्रम महाकालीमा बेपत्ता भएका जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडौँ जानका लागि गाउँबाट हिँडेका थिए ।

 मङ्गलबार प्रतिनिधिसभा बैठकमा दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्नाले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदिय छानबिन समिति गठन गर्न र भारतसँग औपचारीक विरोध जनाउन माग गर्नुभयो । एसएसबीले तुईन फुकालेकोले घटनामा संलग्न एसएसबीलाई कडा कार्वाहीको माग र पिडित परिवारलाई उचित क्षर्तिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । सीमामा नागरिकले भोग्नुपरेको समस्या समाधान गर्न दार्चुला तिकंर सडक राष्ट्रिय महत्तकासाथ तीव्र गतिमा निर्माण गर्नुपर्ने सासंद ठगुन्नाको भनाइ छ ।

भारतीय प्रशासनले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन प्रकरणमा एसएसबी विरुद्ध बोलेको भन्दै तीन जना भारतीय नागरिकलाई कार्वाहीको माग गरेको छ । साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी राप्लाको मालघाटबाट तुइन तर्ने क्रममा बेपत्ता हुनुमा एसएसबीको दोष रहेको भन्दै ती तीन जनाले दुष्प्रचार गरेको एसएसबीको आरोप छ । भारतीय सञ्चार माध्यम हिन्दुस्तान दैनिकका अनुसार पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गत पाङला क्षेत्रको गस्कु जयकोटका तीन जना भारतीय नागरिकविरुद्ध एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको हो । ती तिनै जना ट्याक्सी चालक हुन् ।

तपाईको प्रतिक्रिया