डीडीसीको ह्वाइटनरको व्यावसायिक उत्पादन

  साउन १८, २०७८

विराटनगर, साउन १८ : दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरस्थित दुग्ध वितरण आयोजनाले डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेर बजारमा पठाएको छ । आयोजनाले यही साउनमा नै स्टान्डर्ड ब्रान्डमा एक हजार कार्टोन डेरी ह्वाइटनर बजार पठाएको हो ।

आयोजनाको विराटनगर कार्यालयका प्रमुख गणेशकुमार यादवका अनुसार १५ दिनमा चार सय ग्राम र आठ सय ग्रामका २० हजार प्याकेट डेरी ह्वाइटनर बजारमा पठाइसकिएको छ । गुणस्तरीय ह्वाइटनरमा २१ प्रतिशत घिउ र १८ प्रतिशत चिनीको मात्रा रहेका कारण उत्पादनको सुरुमै सकारात्मक छाप छोड्न सकेको आयोजना प्रमुख यादवको दाबी छ ।

चिया र कफीको धुलो दूध एक केजी ह्वाइटनर उत्पादनका लागि नौ लिटर दूध प्रशोधन गर्नुपर्ने हुन्छ । एक केजी ह्वाइटनरबाट आठ लिटरसम्म चिया र कफी बन्दछ । एक वर्ष उपभोग्य मिति रहेको ह्वाइटनरको चार सय ग्रामलाई ३९५ रुपियाँ र आठ ग्रामलाई ७९० रुपियाँ बिक्री खुद्रा मूल्य तोकेर बजारमा पठाइएको आयोजना प्रमुख यादवले जानकारी दिनुभयो ।

सामान्य तापक्रममा भण्डारण गर्न सकिने भएका कारण यसको प्रयोग सहज हुने उहाँले बताउनुभयो । डेरी ह्वाइटनरको प्रतिदिनको उत्पादन क्षमता आठ टन रहेको छ । अहिले दैनिक दुई टन मात्र उत्पादन भइरहेको छ । मागअनुसार उत्पादन बढाउन सकिने आयोजना प्रमुख यादवले जानकारी दिनुभयो ।

आयोजनाले क्षमता विस्तार गरेको तीन वर्षपछि उत्पादनलाई प्याकेजिङ गरेर बजारमा पठाउन सफल भएको हो । साउनको पहिलो हप्तादेखि डेरी ह्वाइटनरको व्यावसायिक उत्पादन सुरु गरेसँगै अन्तिम हप्तासम्ममा डब्लूएमपी (होल मिल्क पाउडर)को समेत व्यावसायिक उत्पादन सुरु गर्ने तयारी भइरहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

डब्लूएमपी पानीमा घोलेपछि दूध नै हुन्छ । यसमा २६ प्रतिशत चिल्लो पदार्थ र बाँकी ठोस पदार्थ अर्थात् एसएनएफ (सोलिड नट फ्याट)को मात्रा हुन्छ । डब्लूएमपी पानीमा घोलेर दूध बनाएपछि रसबरी, पेडालगायतका मिठाई बनाउन सकिन्छ । दैनिक एक टन डब्लूएमपीको उत्पादन गर्न सकिने क्षमतामा विस्तार भइरहेकाले अभावका बेला यसको प्रयोग बढाउन सकिने उहाँले बताउनुभयो ।

२०७२।७३ देखि नै विराटनगरस्थित आयोजनाको पाउडर प्लान्टबाट डेरी ह्वाइटनर र डब्लूएमपी उत्पादन गर्ने प्रक्रिया सुरु गरिएको थियो । त्यही योजनाअनुरूप तीन वर्षअघि मेसिन जडान गरिएको थियो तर जडान गरिसकिएको मेसिनमा समस्या देखिएपछि आयोजनाले गत वर्ष मात्रै थप पार्टस् झिकाएर मर्मत गरेको थियो ।

मेसिन मर्मत भएपछि प्रतिमिनेट ३० प्याकेट डब्लूएमपी र डेरी ह्वाइटनर उत्पादन गर्ने क्षमता विकास भएको छ । एक घण्टामा एक हजार ८०० पाकेट प्याकिङ गर्ने क्षमता रहेको छ । नयाँ ब्रान्ड उत्पादन सुरु गरे पनि आयोजनाको गोदाममा सात करोड ४२ लाख ५० हजार मूल्यको १३५ टन एसएमपी मौज्दात रहेको प्रमुख यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया