सुजिता हत्या प्रकरण : बुबासहित थप तीनजना पक्राउ

  साउन १८, २०७८

जलेश्वर, साउन १८ : महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडानं. ७ बस्ने सुजिता ठाकुरको हत्याको आरोपमा प्रहरीले उनका बुबासहित थप तीन जनालाई पक्राउ गरेको छ । योसँगै उनको हत्यामा संलग्न भएको आरोपमा अहिलेसम्म सात जना पक्राउ परिसकेका छन् भने अझै केही  फरार छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले सुजिता ठाकुरको हत्यामा शव लुकाउन, घटनाको ढाकछोप गर्ने र घटना लुकाउन बार्गेनिङ् गर्नेहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा सुजिताका बुबा पिपरा गाउँपालिका वडानं. ६ रतौली बस्ने वर्ष ५० को कामेश्वर ठाकुर, सुजिताकी नन्द भंगहा नगरपालिका वडानं. १ कबिलाशा बस्ने वर्ष ३५ की अञ्जु ठाकुर र जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडानं. २४ बसैहिया बस्ने वर्ष ५५ को प्रमोद मण्डल भन्ने बिनोद मण्डल छन् ।

यस अघि सोही हत्याको आरोपमा मृतक सुजिताका देवर रुपेश ठाकुर, लोहारपट्टी–७ स्थित भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँले घटना लुकाउन बार्गेनिङ गरेको आरोपमा मृतकका बुबा, घटनाबारे जानकारी भए पनि कसैलाई नभनी घटना लुकाउन भुमिका खेलेको आरोपमा मृतकका ननदलाई पक्राउ गरिएको जानकारी दिनुहुदै लाश लुकाउन सहयोग गरेको आरोपमा बिनोद मण्डललाई पक्राउ गरिएको बताउनुभयो ।

लोहारपट्टी नगरपालिका वडानं. ७ घर भएकी मुकेश ठाकुरकी श्रीमती सुजाता देवी ठाकुर गत जेठ १९ गतेदेखि वेपत्ता रहेकी थिइन । उनलाई सोही दिन उनका देवर, देवरानी, ससुरालगायतका मिलेर हत्या गर्दै शव खेतमा गाडेका थिए भने सो ठाउँबाट पनि जेठ २९ गते शव उत्खनन गर्दै त्यहाँबाट पाँच सय मिटर पूर्वतर्फ निर्माणाधीन पेट्रोलपम्पसँगै रहेको चिरान गोदामको शौचालयको हजमा राखेर माथिबाट प्लाष्टर गरिएको थियो । अहिले पनि सो घटनामा संलग्न रहेको भनिएको मृतकका ससुरा र देवरानी लगायतकाहरु फरार नै छन् ।

तपाईको प्रतिक्रिया