कुल ४६ लाख ९२ हजार नेपालीले लगाए कोरोनाविरुद्धको खोप

  साउन १८, २०७८

काठमाडौं, साउन १८ : कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आइतबारसम्म ४६ लाख ९२ हजार २६ जनाले काेभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप लगाएर नेपालमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । हालसम्म १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो डोज खोप लगाएका छन् । जसमध्ये चार लाख ६० हजार ३०८ जनाले मात्र दोस्रो डोज लगाउन पाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अझै १३ लाख ६८ हजार १७६ जनाले कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् । त्यस्तै चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप अहिलेसम्म २२ लाख ३५ हजार ८०४ जनाले पहिलो मात्रा लगाएका छन् । जसमध्ये सात लाख २५ हजार ४२५ जनाले दोस्रो मात्रा लगाइसकेका छन् । त्यस्तै जसमध्ये १५ लाख १० हजार ३७९ जनाले दोस्रो डोज खोप लगाएका छैन ।

चैत २५ गतेदेखि चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप लगाउन शुरु गरिएको थियो । पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ५६४ जनाले भेरोसेलको पहिलो मात्रा डोज लगाएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । साथै ३४ सय दुई जनाले दोस्रो डोज मात्रा लगाएका छन् ।

यसैगरी कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म छ लाख २७ हजार ७३८ जनाले लगाइसकेका छन् । यही साउन ४ गतेदेखि खोप लगाउन शुरु गरिएको जोन्सन एण्ड जोन्सन खोप आइतबार ४ बजेसम्म छ लाख २७ हजार ७३८ जनाले लगाइसकेको स्वास्थ्य मन्त्रालयलद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । साथै पछिल्लो २४ घण्टामा ६४ हजार १६६ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले सात प्रदेशमध्ये छ प्रदेशमा सञ्चालन भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा जोन्सन एण्ड जोन्सन खोप अभियान सञ्चालन भएको छ भने प्रदेश १ मा भने जोन्सन खोप लगाउन शुरु गरिएको छैन ।

सो अभियानअन्तर्गत प्रदेश २ मा एक लाख १२ हजार ८२५ जनाले, बागमती प्रदेशमा दुई लाख ६१ हजार ६८७ जनाले, गण्डकी प्रदेशमा ८१ हजार ८१६ जनाले, लुम्बिनी प्रदेशमा एक लाख ५६ हजार १०९ जनाले, कर्णाली प्रदेशमा १२ हजार ४८१ जनाले र सुदूरपश्चिम प्रदेशमा २८ सय २० जनाले जोन्सन एण्ड जोन्सन खोप लगाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा नौ हजार ९५८ जनाले, बागमती प्रदेशमा पाँच हजार ३२९ जनाले, गण्डकी प्रदेशका एक हजार ४९ जनाले, लुम्बिनी प्रदेशमा ३७ हजार ३७८ जनाले, कर्णाली प्रदेशमा सात हजार ६३२ जनाले र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८२० जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसोत हालसम्म भारत सरकारको अनुदानबाट प्राप्त दश लाख र नेपाली सेनालाई प्राप्त एक लाख, भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख, गाभी कोभ्साक्सबाट प्राप्त तीन लाख ४८ हजार डोज गरी कुल २४ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भएको छ ।

यसैगरी चीनबाट दुई पटक अनुदानमा प्राप्त १८ लाख डोज तथा नेपाल सरकारबाट चीनको साइनोफार्म कम्पनीसँग गरिएको खोप खरिदको सम्झौता अनुसार असार २४ गते, साउन ७, ८, १० र १५ गते प्राप्त ४० लाख डोज गरि कुल ५८ लाख डोज भेरोसेल खोप आपूर्ति भइसकेको स्वास्थ्य मन्त्रनालयले जनाएको छ । त्यस्तै अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन १५ लाख ३४ हजार ५८० डोजसहित हालसम्म जम्मा ९७ लाख ८२ हजार ५८० डोज खोप प्राप्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिद सम्झौता अगाडि बढेको छ । साथै जापान सरकारले अनुदानमा उपलब्ध गराउने कोभ्याक्स अन्तर्गतको १६ लाख डोज र भारतबाट खरिदको बाँकी १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र कुल एक करोड ८३ लाख ८५० डोज प्राप्त हुने आंकलन स्वास्थ्य मन्त्रालयले गरेको छ ।

तपाईको प्रतिक्रिया