महाकालीमा बेपत्ता धामी भेटिएनन्, क्षतिपूर्तिको माग, परिवारकाे बिचल्ली

  साउन १८, २०७८

दार्चुला, साउन १८ : तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डोरी फुकालिदिएपछि महाकाली नदीमा बेपत्ता भएको भनिएका व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी अझै फेला पर्नुभएको छैन । वैदेशिक रोजगारीका लागि यसअघि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका धामी गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किनुभएको थियो । शुक्रबार फेरि सपनाको भारी बोकेर विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका धामीका सारा सपना आफूसँगै महाकालीमै बिलाए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले महाकाली छेउमा निरन्तर जयसिहको खोजी गरे पनि कतै फेला नपरेपछि खोजिमा हिँडेका परिवारका सदस्य र गाउँलेले मृत्यु भएको आशङ्कामा कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । एसएसबीले तुइनको डोरी फुकालिदिएपछि महाकालीमा बेपत्ता भएका धामीको परिवार शोकाकुल बनेको छ । विदेश जाने सपना बुनेर घरबाट हिंडेका श्रीमान महाकालीमा बेपत्ता भएको खबर सुनेदेखि घरमा आमा र श्रीमती राजन्ती छिनछिनमा बेहोस भइरहनुभएको छ । छोराछोरीको पनि रुवाबासी चलेको छ । परिवारले अभिभावक गुमाएपछि डेढ वर्षकी छोरी र सात वर्षका छोराको लालनपालन र शिक्षा–दीक्षाको जिम्मेवारी राजन्तीकै काँधमा आएको छ ।

आर्थिक रूपमा विपन्न परिवारका जयसिंहले सुरुमा सेनामा जागिर खाएका थिए । तर घरखर्च चलाउन मुस्किल भएको भन्दै बीचमै छाडे । पछि ऋण काढेर वैदेशिक रोजगारीका लागि कतार गए । त्यहाँ पनि धेरै बस्न सकेनन । फर्किएपछि फेरि दुबई गए, त्यहाँ पनि भनेजस्तो काम नपाएपछि स्वदेश फर्किए । जयसिहका आफन्त नरेन्द्र धामीका अनुसार विदेश जाँदा लागेको ऋण पनि तिर्न सकेका थिएनन । दुबईबाट फर्केपछि केही समय काठमाडौंमै सेक्युरिटी गार्डको जागिर पनि गरेका थिए । जयसिंहले गत वैशाख–जेठमा यार्सागुम्बा सङ्कलन गरेर ३५–४० हजार आम्दानी गरेका थिए । सोही पैसा बोकेर जयसिह काडमाडौँ हिडेका थिए ।

गाउँको उब्जनीले तीन महिना पनि खान पुग्दैन । कहिले कता कहिले कता रोजगारी गरेर परिवार धानिरहेको थियो,’ जयसिहका दाई हरकसिंह धामीले भन्नुभयो, घरको कमाउने मान्छे नै बेपत्ता भएपछि परिवार झनै समस्यामा परेको छ । जयसिहकी श्रीमती राजन्तीको जीवनमा ठूलो बज्रपात आइपरेको छ, जाने भन्दा बाँचेकाको पालनपोषण, शिक्षादीक्षा कसरी गर्ने भन्ने ठूलो चिन्ता छ । राजन्तीलाई श्रीमान महाकालीमा बगेपछि संसार सुन्य भएको छ, एकछिन होस आउँछ, एकछिनमा फेरि बेहोस हुन्छिन । घरमा सान्त्वना दिन आउने छिमेकीको भिड छ, तर को आए, को गए पत्तो पाउनुहुन्न । टोलाएर बस्नुहुन्छ । आँखाबाट आँसु भेल बगेको–बग्यै छन् ।

स्थानीय र वडाध्यक्षहरु भन्छन्, तुइनको डोरी एसएसबीले नै फुकालेको हो
व्यास गाउँपालिका वडा नम्बर २, ३ र ५ का वडा अध्यक्ष लगायत स्थानीयले आइतबार दार्चुला सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी भारतीय एसएसबीले नै तुइनको डोरी फुकालेका कारण जयसिह धामी महाकालीमा बेपत्ता भएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै व्यास गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्रसिह धामीले भन्नुभयो, एसएसबीले गर्दा नै जयसिहको ज्यान गएको हो ।

घटना घटेपछि म पनि घटनास्थलमा पुगेको थिए । त्यसतिबेला एसएसबी मात्रै भेटे, जयसिंहका आफन्तहरुले त्यसअघि नै भारतकै पागला प्रहरी चौकीमा तुइन काट्ने एसएसबी विरुद्ध निवेदन पेस गरिसकेका थिए । स्थानीयले दर्ता गरेको निवेदनको प्रतिलिपि माग गरे पनि आफूलाई नदिएको उहाँले बताउनुभयो । आफुले घटनास्थलबाट फर्किने बेला नै तुइन काट्ने दुबै जना एसएसबीलाई अन्यत्रै पठाइएको जानकारी पाएको वडाध्यक्ष धामीको भनाइ छ ।

स्थानीयले आफ्नै आखाँले देखेको कुरा झुटो हुन सक्दैन, एसएसबीले तुइन फुकालेकै हो, उहाँले भन्नुभयो, एसएसबीकै कारण नेपाली नागरिकको ज्यान गएकोले दोषीलाई कडा कारवाही हुनुपर्छ । ज्यानमारा एसएसबीलाई कडा कारवाही गरेर पीडित परिवारलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले राहातको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । वडा नम्बर २ का वडाअध्यक्ष एबं व्यास गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले जयसिह धामीको हत्या नै भएकोले घटनामा संलग्न एसएसबीलाई कारवाही हुनुपर्ने बताउनुभयो । पीडित परिवारलाई गाउँपालिकाको तर्फबाट केहि दिन भित्रै राहात दिने बताउँदै उहाँले प्रदेश र संघीय सरकारले समेत राहातको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

व्यास गाउँपालिकाले समेत विज्ञप्ति सार्वजनिक गरेर भारतीय सुरक्षा निकायका जवानहरुबाट भएको हत्याको खबरले गाउँपालिका परिवार स्तब्ध, दुःखी एबं आक्रोशित भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, मानव अधिकारका सम्पूर्ण मूल्य मान्यताहरुको उल्लङघन हुने यस्ता अमानवीय र जघन्य अपराधको घोर निन्दा र भत्सना गर्दछौँ । यथासिघ्र बेपत्ताको खोजि गरि पीडित परिवारलाई उचित क्षतिपूर्र्ति, मृतकका बालबालिकाको शिक्षाआर्जन र पालनपोषण सुनिश्चित गर्न, घटनाको वास्तविक सार्वजनिक गर्न र आफ्ना नागरिकलाई न्याय दिलाउन उच्चस्तरीय कूटनीतिक पहलमार्फत घटनामा संलग्न भारतीय अधिकारीलाई कारवाहीको पहल गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछौँ ।

तुइन काटेर निर्दोष व्याक्तिको हत्या गर्नु अन्तराष्ट्रिय फौजदारी अपराध भएको व्यास गाउँपालिकाको ठहर छ । विगत लामो समयदेखि तुइनमार्फत आवतजावत गर्दा हुँदै आएका मानवीय क्षति र भारतमाथिको परनिर्भरता अन्त्य गर्न दार्चुला तिङ्कर सडक निर्माणकार्य र ठेक्का भइसकेका मलघट्टे र मालघाटका झोलुङ्गे पुलहरु यथाशीघ्र सम्पन्न गर्न व्यास गाउँपालिकाले सरकारसंग माग गरेको छ । शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको बताएका थिए । सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर व्यासवासी धारचुला पुग्छन् ।

धारचुलाबाट झोलुगें पुल तरेर उनीहरु खलङ्गा आउने गरेका छन् । तर, पछिल्लो समय एसएसबीले बेलाबेलामा तुइन काटेर दुःख दिने गरेको छ । शुक्रबार बिहान जयसिंह तुइन तर्दा सञ्चालक कल्याणसिंह धामीले तीनजना तरेपछि मात्रै डोरी फुकाउन एसएबीलाई अनुरोध गरेका थिए । तर, एसएसबीका जवानले अमानवीय व्यवहार देखाउँदै जयसिंह तरिरहेका बेला डोरी फुकालिदिए । जयसिंहपछि तुइन तर्ने लाइनमा विक्रम रंकोली थिए । रंकोलीले भन्नुभयो, हामीसँग फोटो खिच्न मोबाइल थिएन । हामी तीनजना नेपालतिर थियौँ । जयसिंह भारतपट्टि पुग्ने बेला नदीमा खसे । एक्कासि उनी महाकालीमा डुबेपछि हामी पनि आत्तियौँ, उहाँले थप्नुभयो, नेपालतिर भएको भए उद्धारमा कोसिस गथ्र्यौँ, एसएसबीका जवान जयसिंह महाकालीमा खस्नेबित्तिकै भागेर पाँगलास्थित ब्यारेकतर्फ गए । नदीमा पानीको मात्रा बढी भएकोले जयसिहलाई हामीले बचाउन सकेनौँ ।
अलमलमा अनुसन्धान
तुइन तर्ने क्रममा जयसिह धामी महाकालीमा बेपत्ता भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नताबारे छानबिन भइरहेको छ । एसएसबीले तुइन काटेपछि जयसिह महाकालीमा खसेको स्थानीय र प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुला र गृह मन्त्रालयले भने भारतीय सुरक्षाकर्मीको यस घटनामा संलग्नता रहेकोबारे पुष्टि नभएको बताइरहेका छन् । प्रत्यक्षदर्शीहरुले एसएसबीले नै तुइन फुकालेको बताइरहँदा प्रहरी प्रशासनले भने उक्त कुरा पुष्टि हुने कुनै ठोस प्रमाण फेला नपरेको बताइरहेका छन् ।

शनिबार भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई दिएको जवाफमा यस घटनामा एसएसबीको संलग्नता नरहेको बताउनुभएको छ । स्वरुपको सरुवा समेत भइसकेको छ । स्थानीय बहादुरसिंह धामीले घटना एसएसबीले तुइन काटेपछि भएको भन्दै छानबिन गर्न माग गरेर भारतीय प्रहरी चौकी पाङलामा निवेदन दिएका छन् । घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक वीरसिंह धामीको नेतृत्वको टोली खटिएको छ । टोलीमा नेपाल प्रहरी र अनुसन्धान प्रहरी पनि सहभागी छन् ।

आइतबार घटनास्थल हेरिएको र स्थानीयसँग सोधपुछको काम गरिएको टोलीमा खटिएका एक प्रहरी अधिकृतले बताउनुभयो । प्रत्यक्षदर्शीलाई सदरमुकाम आउन भनिएको छ । सोमबार उनीहरू आउनेछन्, उहाँले भन्नुभयो । प्रत्यक्षदर्शीले जे बयान दिन्छन्, त्यसैलाई आधार मानेर अनुसन्धान अघि बढ्छ, उनीहरूले भनेपछि कुरा छर्लंगै होला, एकजना प्रहरी अधिकृतले भन्नुभयो । घटना हुनुअघि तुइन तरेर पारि भारत पुगेका चार जनाको बयान प्रहरीले लिइसेकेको छ । उनीहरूले एसएसबीका दुई जना जवान तुइन भएको स्थानमा पुगेको देखेको प्रहरीसमक्ष बताएका छन् । तुइनमा प्रयोग गरिएको बिजुलीको फलामे तार थियो । त्यो तार अनुसन्धानका लागि गएको टोलीले फेला पारेको छैन ।

घटनाको राष्ट्रिय रुपमै चर्चा भएपछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानविन समिति समेत गठन गरेको छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज काठमाडौबाट दार्चुला प्रस्थान गरेको छ । छानविन समितिको सदस्यसमेत रहनुभएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भन्नुभयो, काठमाडौंको टोली सोमबार धनगढी बसेर मंगलबार दार्चुला आउँछ, त्यसपछि एक राउण्ड छलफल गरेर काम सुरु हन्छ । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो । छानविन समिति संयोजक गौतम यसअघि दार्चुलाको प्रमुख जिल्ला अधिकारी समेत भइसक्नुभएको छ ।

सडक र पुल नहुँदा सास्ती
तुइन भएकै ठाउँमा झोलुंगे पुल बनाउन तीन वर्षअघि ठेक्का लागेको छ । तर, अहिलेसम्म जग हाल्ने काम मात्रै भएको छ । पुल बनाउने भनेर जग हाल्ने काम मात्रै भयो, बाँकी काम अघि बढेन, मालका तुइन सञ्चालक कल्याणसिंह धामीले भन्नुभयो, यो ठाउँमा पुल बनेको भए जयसिंहले अकालमै ज्यान गुमाउनुपर्ने थिएन । मालगाउँबाट पैदल हिँडेर सदरमुकाम पुग्न घोरेटो बाटो पनि राम्रो छैन । गाउँबाट खलंगा पुग्न पूरै एक दिन लाग्छ । तर, महाकालीमा तुइन तरेर भारततिरबाट गाडीमा जाँदा एक घन्टामै सदरमुकाम पुगिन्छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट व्याँसको तिङ्कर जोड्ने गरी १३ वर्षअघि महाकाली लोकमार्ग निर्माण सुरु भएको थियो । तर, यो सडक अझै व्याँस गाउँपालिका–२ मालगाउँसम्म पुगेको छैन । हालसम्म ४३ किलोमिटर सडकको ट्रयाक खुलाइएको छ । सुनसेरादेखि माल जोड्ने क्षेत्रमा नौ वर्षयता चार किमी मात्र सडक निर्माण भएको छ । महाकाली नदीमाथि तुइन विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ । मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तीघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको छ ।

चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । व्याँस गाउँपालिका–२ को माल तथा ३ र ४ को बर्तीघाटमा झोलुंगे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । यी दुवै ठाउँमा खम्पाचे–रुविना जेभी काठमाडौंले झोलुंगे पुल निर्माणका लागि कुल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यस्तै, बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुंगे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कुल दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि समयमै निर्माण समाग्री नपाउदा पुल निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी धनबहादुर कुवँरले बताउनुभयो । छिटो पुल निर्माण गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको भनाइ छ । आफु जिल्लामा आउने बित्तिकै कोरोनामा केन्द्रित हुनुपर्यो, प्रजिअ जोशीले भन्नुभयो, जेठ महिनामा निर्माण व्यवसायीलाई मालघाट पुल निर्माणमा भएको ढिलाइबारे सोधेर छिटो काम गर्न भनेको छु । पुल नहुँदा अहिले व्यासवासी ज्यानको बाजी लगाएर आवतजावत गर्नुका साथै निर्माण, खाद्यान्न र व्यापारिक सामग्री ढुवानी गर्न बाध्य छन् ।

तपाईको प्रतिक्रिया