इन्डोनेसियाका लोपोन्मुख प्रजातिका दुई बाघ कोरोनाबाट सङ्क्रमित

  साउन १८, २०७८

काठमाडौं, साउन १७ : इन्डोनेसियाको जाकार्ता शहरका अधिकारीहरुले लोपोन्मूख प्रजातिका दुई बाघ कोरोनाभाइरसबाट सङ्क्रमित भएको बताएका छन् । तर दुबै बाघ छिट्टै निको हुने उनीहरुले विश्वास ब्यक्त गरेका छन् । दुबै बाघ सुमात्रन प्रजातिको रहेको बताइएको छ ।

अलजजिराले अधिकारीहरुलाई उद्धृत गर्दै राजधानी जाकार्तास्थित एक चिडियाघरका नौ वर्षीय टिनो र १२ वर्षीय हरि सङ्क्रमित भएपछि औषधी दिइएको उल्लेख गरेको छ । जाकार्ता पार्क र ग्रामीण वन निकायका प्रमुख सुजी मरसिटवाटीले गत् जुलाइ ९ मा टिनोले हाँछ्यु गर्नुका साथै लक्षण देखाउन सुरु गरेको तथा श्वास लिन उसलाई कठीनाइ भएको देखिएको बताउनुभयो ।

जुलाई १४ मा नमूना लिएर परीक्षण गर्दा दुबैमा सङ्क्रमणको पुष्टि भएको उहाँले बताउनुभयो । दुबै बाघ इन्डोनेसियाको पहिलो कोरोनाभाइरसबाट सङ्क्रमित जनावर रहेको विश्वास गरिएको छ । १२ दिनको औषधी उपचारपछि बिस्तारै दुबै बाघ निको हुन थालेको उहाँले बताउनुभयो ।
उहाँले चिडियाघरले दुबै बाघ कसरी सङ्क्रमित हुन पुगे सम्बन्धमा अनुसन्धान गरिरहेको जनाउनुभएको छ । इन्डोनेसियामा हालसम्म ३४ लाख ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने ९४ हजार जनाको सङ्क्रमणबाट मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया