झापामा प्रभावकारी बन्दै रबर जोन कार्यक्रम

  साउन १७, २०७८

दमक, साउन १७ : प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तर्गत झापामा शुरु भएको रबर जोनमा रबरको विरुवाको अभाव हुन नदिनका लागि रबरका बिरुवाको नर्सरी स्थापना गरिएको छ । भारतको आसामबाट विरुवाहरु ल्याएर क्रस गराई नर्सरी स्थापना गरिएको छ ।

मेचीनगर नगरपालिकाको वडा नं. ३ मा निन्दा रिभर ल्याण्ड कल्चरल होमस्टे एण्ड एग्रो प्रालिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रबर जोनको सहयोगमा नर्सरी स्थापना र ब्यवसायिक रबर खेती शुरु गरेको छ । खोलाको धारामा करिब ३ हेक्टरमा यो पटक आफूरुले ब्यवसायीक रबर खेती शुरु गरेको नन्दा रिभर ल्याण्ड कल्चरल होमस्टे एण्ड एग्रो प्रालिका अध्यक्ष जितेश योञ्जनले बताउनुभएको छ ।

बिरुवा अभाव भएर हामीले भनेजसरी ब्यवसायिक रुपमा खेती लगाउन सकेनौ र अहिले नर्सरी बनाएका छौ, उहाँको भनाई छ । यसमा परियोजनाको दश लाख, मेची नगरपालिकाको पाँच लाख र आफुहरुको पाँच लाख गरेर २० लाख खर्चेर नर्सरी निर्माण गरेको पनि योञ्जनले जानकारी दिनुभयो । नर्सरीबाट आगामि वर्ष कम्तीमा पनि पाँच हजार बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।

पछिल्ला दिनहरुमा खुल्दै आएका ठूला–साना रबर उद्योगहरुमा आवश्यक प्रमुख कच्चापदार्थ प्राकृतिक रबर खरिदमा वर्षेनी लगानी बाहिर गइरहेकाले बाहिर जाने रकम यही रोक्न सकिने जनाइएको छ । जिल्लामा २०७५ सालको साउन महिनाबाट रबर जोन सञ्चालनमा आएको र पहिलो वर्ष खास कुनै पनि कार्यक्रम अघि नबढेको भए पनि त्यसपछि कार्यक्रमहरु अगाडि बढाएको पाइएको छ ।

रबर बालीमा पूर्वाधार विकास, व्यवसायिकरण एवं प्रशोधन तर्फ केन्द्रित रहि कार्यक्रमहरु सञ्चालन भइरहेको छ र यसै अन्र्तगत मेचीनगर नगरपालिकामा नर्सरी स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनुभयो । पूर्वी तराई भेगमा पर्ने झापा, मोरङ, सुनसरी र इलामको दक्षिणी बेसी भागमा रबर खेती गर्न सकिने विभिन्न अध्ययनले देखाएको पनि बताइन्छ ।

जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्दन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने काम गरिरहेको पनि सुवेदीले जनाउनुभयो । निक्कै आवश्यकता महसुस गरिएको रबर खेती स्वदेशमै गरी आत्मनिर्भर बन्न लामो समय लाग्दैन, सुवेदीले भन्नुभयो । रबर उत्पादनका लागि महत्वपूर्ण बहुवर्षीय औद्योगिक बाली हो । झापामा दुइ सय ५० भन्दा बढी हेक्टरमा ब्यावसायिक रुपमा रबर खेती हुँदे आएको छ ।

तपाईको प्रतिक्रिया