विर्तामोड–भद्रपुर : बन्यो फोरलेनको सडक

  साउन १६, २०७८

झापा, साउन १६ : विर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘फोरलेन’ भएको चार किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो फोरलेनको सडक हो ।

‘विर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई चारलेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ ।

डिभिजन सडक कार्यालय दमकका सूचना अधिकारी ई अनुप साउदेनका अनुसार विर्तामोडदेखि गरामनीसम्मको चारलेन सडक रु ३१ करोड १३ लाखका ठेक्कामा ललितपुरको श्री आशिष र प्रेरा जेभीले निर्माण गरेको हो ।

२०७५ असार २४ गते निर्माण व्यवसायी कम्पनीले ठेक्का सम्झौता गरे तापनि तोकिएको १४ महिनामा निर्माण कार्य सम्पन्न हुन सकेन । कोभिड–१९ को महामारीका कारण बेलैमा काम हुन नसक्दा निर्माणमा ढिलाइ भएको कम्पनीले कारण देखाएपछि डिभिजन सडक कार्यालयले तीनपटक म्याद थपेको थियो ।

सो सडक गत चैत २५ गते निर्माण कम्पनीले सडक कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । दोस्रो खण्डमा गरामनीदेखि चन्द्रगढीस्थित लेखनाथ चोकसम्मको सडकलाई चारलेनमा निर्माण गर्ने कार्य शुरु भइसकेको छ ।

सो सडकको निर्माणको ठेक्का ‘एमएस कन्टेक’ नामक निर्माण व्यवसायी कम्पनीले रु ५८ करोड दुई लाख २८ हजार १९१ मा पाएको डिभिजन सडक कार्यालय दमकले जनाएको छ । कम्पनीका व्यवस्थापक परीक्षित गजुरेलले बर्खाका कारण काममा विलम्ब भए तापनि भदौदेखि निर्माण कार्यले गति लिने बताउनुभयो । हाल सडक किनारमा पर्खाल लगाउने र ड्रेन बनाउने काम जारी रहेको उहाँको भनाइ छ ।

सडक कार्यालयका सूचना अधिकारी साउदेनका अनुसार २०८० भदौ ४ गते निर्माण सम्पन्न गर्ने गरी एमएस कन्टेकले २०७७ असोज १० गते ठेक्का सम्झौता गरेको थियो । विर्तामोडबाट बनेको चार लेनको सडकले भद्रपुरको झापा चोकस्थित हुलाकी लोकमार्गलाई जोड्ने योजना रहेको र सरकारले यो सडकको निर्माण कार्यलार्ई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

विर्तामोडका अगुवा व्यवसायी सुवास भट्टराईले पूर्वपश्चिम लोकमार्गबाट शुरु हुने चार लेनको यो सडकले शहरको सौन्दर्य बढाएको र भविष्यमा हुलाकी लोकमार्गसँग जोडिने बताउनुभयो । “विर्तामोडको मुहार फेरियो, विकासको नयाँ नमूना देख्न पाइयो”, नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिवसमेत रहनुभएका उहाँले भन्नुभयो, “चार लेनको सडकलाई सफा र सुन्दर बनाउने जिम्मेवारी अब नगरपालिकाको हो ।”

साविक मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको व्यापारिक केन्द्रका रुपमा उदाएको विर्तामोड शहर हाल स्वास्थ्य, शिक्षा र पर्यटनकोसमेत केन्द्र बनिसकेको छ । भद्रपुरमा रहेको चन्द्रगढी विमानस्थल आवतजावत गर्न चार लेनको सडकले अब छोटो र छरितो हुने व्यवसायी भट्टराईको भनाइ छ ।

तपाईको प्रतिक्रिया