मदन पुरस्कार २०७७ का लागि नौ पुस्तक प्रारम्भिक सूचीमा छनाेट

  साउन १६, २०७८

काठमाडौं, साउन १५ : मदन पुरस्कार गुठीद्वारा हरेक वर्ष वितरण गरिने मदन पुरस्कार २०७७ का लागि संकलित दुई सय २२ पुस्तकमध्ये नाै पुस्तक प्रारम्भिक सूचीमा सूचीकृत भएका छन् । सूचीमा परेका नौ पुस्तकमध्ये एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नित्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेको सो गुठीले जनाएको छ ।

गुठीका अध्यक्ष कुन्दमणि दीक्षितकाअनुसार वर्षभरि प्रकाशित दुई सय बाइस पुस्तकमध्ये नौ पुस्तक प्रारम्भिक छनौटमा परेका हुन् । यी नौ मध्ये एक लाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिने उहाँले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।

मदन शमशेर राणाको स्मृतिमा रानी जगदम्बाद्वारा २०१२ सालमा स्थापित मदन पुरस्कारबाट हालसम्म संयौं पुस्तक पुरस्कृत भइसकेका छन् । सो पुरस्कारको पहिलो घोषणा २०१३ साल र सम्मान कार्यक्रम २०१४ मा भएको थियो । प्रारम्भमा सम्मान पुरस्कारको राशी चार हजार रुपियाँबाट शुरु भएको थियो । २०७५ सालदेखि अहिले पुरस्कारको राशी चार लाख रुपियाँ पु¥याइएको छ ।

पहिलो पटक मदन पुरस्कार सत्यमोहन जोशीद्वारा लिखित ‘हाम्रो लोकसंस्कृति’, चित्तरन्जन नेपालीद्वारा लिखित ‘जनरल भीमसेन थापा’ र बलराम जोशीद्वारा लिखित ‘अधिकविभव स्थिरविद्युत्’ ले प्राप्त गरेको थियो । नेपाली भाषामा प्रकाशित उत्कुष्ट कृतिहरुमध्ये एक कृतिलाई हरेक वर्ष मदन पुरस्कार सम्मान प्रदान गर्दैआएको गुठीले जनाएको छ ।

तपाईको प्रतिक्रिया