बारपाक भूकम्प स्मृति स्तम्भ, पाँच वर्ष बित्यो योजना अधुरै

  साउन १५, २०७८

काठमाडौँ, साउन १५ : छ वर्षअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ अझै सम्पन्न हुन सकेको छैन । २०७२ वैशाखमा गएको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा भूकम्प स्मृति स्तम्भ निर्माण भइरहेको हो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा निर्माण भइरहेको सो स्तम्भको निर्माण कार्य भूकम्प गएको अर्को वर्षदेखि नै सुरु गरिए पनि अहिलेसम्म त्यसको काम सम्पन्न हुन सकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ गते सो स्तम्भको शिलान्यास गर्नुभएको थियो । तीस महिनाभित्र सम्पन्न गर्ने गरी स्तम्भ निर्माणका लागि २०७४ मङ्सिर १४ गते स्वच्छन्द/होम निर्माण (जेभी)सँग सम्झौता भएको थियो ।

‘बारपाक भूकम्प स्मृति स्तम्भ’ नाम दिइएको स्मारकको अहिलेसम्म करिब ८५ प्रतिशत निर्माण पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका प्रमुख सुनिता श्रेष्ठले राष्ट्रले भोगेको भूकम्पको सो दुःखद घडी र भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्तम्भ बन्न लागेको बताउनुभयो । कोभिड–१९ को महामारी बावजुद स्तम्भको भौतिक प्रगति ८५ र आर्थिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्तम्भको मुख्य संरचनाको काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ को काम भइरहेको छ । त्यसैगरी सोही स्थानमा निर्माण भइरहेको क्यान्टिन, शौचालय, गार्ड हाउसलगायतको संरचनाको काम सम्पन्न भई अहिले रङरोगनको काम भइरहेको छ ।” कुल १३ करोड छ लाख रुपियाँको लागतमा सो स्मृति स्तम्भ निर्माण भइरहेको छ ।

स्तम्भका खम्बाहरू उठाई ‘स्लोप’ ढलानको कार्य सम्पन्न भइसकेको जनाइएको छ । उहाँले अहिले सो स्मृति स्तम्भसम्म पुग्न पहुँच मार्ग निर्माण भइरहेको छ । बाटोमा कल्भर्ट निर्माणसमेत गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उहाँको भनाइ छ । त्यसैगरी, बाह्य र आन्तरिक पर्यटकको रोजाइमा पर्न सक्ने सो स्मृति स्तम्भसम्म सहज यातायात पहुँचका लागि अहिले मुख्य सडकबाट स्मृति स्थलसम्मको पहुँचमार्ग निर्माण भइरहको बताउँदै आयोजना प्रमुख श्रेष्ठले त्यहाँको भौगोलिक विकटताका कारण पनि निर्माण कार्यलाई तीव्रता दिन कठिनाइ भइरहेको बताउनुभयो ।

उहाँले चालू आर्थिक वर्षभित्र सो स्मृतिमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको बताउनुभयो । भूकम्पबाट मुख्य रूपले प्रभावित १४ वटा जिल्लाको सम्झना गर्ने किसिमले १४ वटा खम्बासहितको स्मृति स्तम्भ निर्माण हुन लागेको बताउँदै उहाँले खम्बामा मृतकको नामसमेत समावेश गरिने छ । सरकारी स्वामित्वमा रहेको २१६ रोपनी क्षेत्रफल जग्गामा सो स्तम्भ निर्माण भइरहेको छ । भूकम्पबाट भएको क्षति सम्बन्धित जिल्लाको मात्र नभई सिङ्गो मुलुककै दुःखदायी र पीडाको घडी हो भन्दै ती १४ वटा खम्बा जोडाएर त्यसमाथि पृथ्वीको नक्सासमेत तयार गरिने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

पृथ्वीको नक्सामा भूकम्प गएको मिति र समयसमेत अङ्कित गरिने छ । यस स्तम्भको डिजाइन सहरी विकास मन्त्रालयअन्(तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तयार पारेको हो ।बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले गाउँपालिकाकै गौरवको आयोजनाका रूपमा रहेको भूकम्प स्मृति स्तम्भ निर्माण कार्यमा धेरै नै ढिलाइ भएको बताउँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनाबाट सो स्तम्भ निर्माण भइरहेकाले गाउँपालिकाले चाहेर पनि केही गर्न नसकेको बत(ाउनुभयो ।

तपाईको प्रतिक्रिया