नयाँ भेरियन्ट उत्परिवर्तन सामान्य कुरा हो तर यो सङ्क्रामक पनि हुन सक्छ : विज्ञ

  साउन १४, २०७८

काठमाडौं, साउन १४ : मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेल्टा भाईरसको नयाँ म्युटेसन फेला परेको जनाएसँगै नयाँ म्युटेड भेरियन्टले कत्तिको असर गर्छ भन्ने सबैको जिज्ञासा छ । कोरोना भाइरसको डेल्टा भेरियन्ट नै बढी संक्रामक भएको जनाइरहँदा यसको नयाँ म्युटेसन देखिँदा यो कति सङ्क्रामक हुन्छ भन्ने कुरा अझ जिज्ञासाको विषय हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.वासुदेव पाण्डेयले भाइरसहरुको उत्परिवर्तन निरन्तर चलिरहने भए पनि अहिलेको डेल्टा भेरियन्टको नयाँ म्युटेसन घातक हुन सक्ने बताउनुभएको छ । विभिन्न देशमा डेल्टा भेरियन्टबाट नै धेरै मानिस सङ्क्रमित भैरहेकाले यो नयाँ म्युटेसनले पनि धेरै मानिसलाई सङ्क्रमण गर्न सक्ने उहाँले बताउनुभयो ।

यो नयाँ म्युटेड भेरियन्टले विशेषगरी बालबालिकालाई बढी सङ्क्रमण गर्न सक्ने उहाँले बताउनुभयो । विभिन्न देशमा पनि अहिले बालबालिका बढी सङ्क्रमित भइरहेको अवस्थामा नेपालमा पनि बालबालिका बढी जोखिममा  छन् उहाँले भन्नुभयो।  बालबालिकाले खोप पनि लगाउन नपाएकाले यो नयाँ म्युटेड भेरियन्ट बढी घातक हुनसक्छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि यो नयाँ म्युटेड भेरियन्ट खतरनाक नै रहेको बताउनुभएको छ । यो भेरियन्ट नेपाल सरकारले जनाएजस्तो नौलो नरहेको उहाँको भनाइ छ । सरकारले नौलो म्युटेसन पत्ता लाग्यो भन्नुभन्दा उनीहरु कुन उमेर समूहका हुन् अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुनेमा उहाँको जोड छ ।

दोस्रो लहर उत्कर्षमा पुगेको बेला नेपालमा डेल्टा भेरियन्ट देखिएकाले अहिले यसको म्युटेड भेरियन्ट बढी सङ्क्रामक पनि हुन सक्ने उहाँको भनाइ छ । यो भेरियन्टले खोप नलगाएका जुनसुकै उमेर समूहकालाई पनि आक्रमण गर्न सक्ने उहाँ बताउनुहुन्छ । यस्तै माइक्रोबायोलोजिस्ट डा. प्रकाश घिमिरेले भाइरसको म्युटेसनलाई स्वाभाविक प्रक्रियाका रुपमा लिनुपर्ने बताउनुहुन्छ । जुनसुकै भाइरस पनि म्युटेसन हुने भएकाले म्युटेड भेरियन्टको प्रकृति र सङ्क्रमणलाई नियाल्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले सूचना प्रकाशित गरेर नयाँ भेरियन्ट पत्ता लाग्यो भनेर नागरिकमा त्रास उत्पन्न गर्नु नहुने उहाँको भनाइ छ । सरकारले नयाँ म्युटेड भेरियन्टको सङ्क्रमण दर कस्तो छ कस्ता प्रकृतिका मानिसलाई यसले सङ्क्रमण गरेको छ भन्ने कुरामा जोड दिनुपर्ने उहाँको आग्रह छ। । बालबालिकाहरुले खोप नलगाएको अवस्था भएका कारण यो नयाँ म्युटेड भेरियन्टले उनीहरुलाई असर गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया