कोरियामा रोजगारी तत्काल खुल्ने सम्भावना कम

  साउन १४, २०७८

काठमाडौँ, साउन १४ : नेपालीको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियाको रोजगारी तत्काल खुल्ने अवस्था देखिएको छैन । झन्डै १७ महिनादेखि कोरियामा नेपाली श्रमिकलाई प्रवेश गराउन सहजीकरणका लागि ईपीएस नेपाल र कोरियन पक्षले प्रयास गरिरहेको भए पनि तत्काल जाने सम्भावना नदेखिएको हो । कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका झन्डै १० हजार युवा अन्योलमा छन् ।

वैदेशिक रोजगार विभाग र्ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले दक्षिण कोरिया सरकारले पहिलो लहरको कोरोना महामारी फैलिएको बेलादेखि नेपालबाट श्रमिक लिन बन्द गरेकामा खुलाउने पहल भइरहेको तर जोखिम झनै बढेकाले अनिश्चित झनै बढेको जानकारी दिनुभयो । कोरियामा कोभिडको सङ्क्रमण अहिले फेरि तीव्र बनेको छ ।

उहाँका अनुसार सुरुमा कोरियामा कोरोना महामारी फैलिएका बेला नेपालले नै भाषा परीक्षा उत्तीर्ण गरेकालाई पठाउन रोके पनि पछिल्लो समयमा हामीकहाँ महामारी फैलिएकाले कोरियाले श्रमिक लिन ढिला गरिरहेको छ हो तर भाषा परीक्षा उत्तीर्ण गरेकाहरूले भने सरकारले पहल नगर्दा कोरिया रोजगारी सुरु हुन नसकेको भन्दै विरोध गर्दै आएका छन् ।

कोरिया जान नपाएका युवाले पटकपटक सरकारका मन्त्रीलगायत उच्च पदस्थलाई जानकारी गराउँदै आएका छन् । भाषा परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म रोस्टरमा नाम रहन्छ । यस अवधिमा रोजगारदाताको छनोटमा पर्न नसकेको खण्डमा कोरियामा रोजगारी पाइँदैन ।

तत्काल कोरिया जाने सम्भावना नदेखिएपछि ईपीएसअन्तर्गत कोरिया जाने श्रमिकको कोरोना बीमाको तयारी गरेको छ । ईपीएसअन्तर्गत कोरिया जान रोकिएका नेपाली युवालाई प्रवेश गराउने सम्बन्धमा मानव संसाधन विभाग (एचआरडी) कोरियाले अन्य सरकारी निकायसँग छलफल गरिरहेको जनाएको छ ।

कोरियाको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालयअन्तर्गतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेको जनाइएको छ ।

कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि केही देशबाट श्रमिक लैजान सुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाललगायतका विदेशी श्रमिकलाई लैजानेबारे तयारी भइरहेका बेला कोभिड भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको छ ।

ईपीएस शाखाका प्रमुख गौतमले नेपाली युवा कोरिया जाने कार्य रोकिए पनि माग भने निरन्तर आइरहेका कारण कोरियाले प्रवेश गराउने तयारी गरिरहेको बुझ्न सकिने बताउनुुभयो । कोरियाका रोजगारदाताले विदेशी श्रमिक माग गरिरहेको भए पनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले प्रवेश अनुमतिलाई निरन्तरता दिएपछि एचआरडीले अवस्था हेरेर खोल्ने तयारी गर्न अनुरोध गरिरहेको छ ।

नेपालसहित १६ श्रमस्रोत मुलुकले प्रवेशलाई सहजीकरण गर्न सम्बन्धित देशको एनआरडीसँग अनुरोध गर्दै आएको भए पनि सङ्क्रमण नघटेका कारण प्रवेश अनुमति खुला हुन सकेको छैन । सो शाखाका अनुसार ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजारभन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका बारे गोरखापत्र अनलाइनमा उल्लेख छ ।

भ्रमपूर्ण सूचनाप्रति ध्यानाकर्षण
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले पछिल्लो समयमा कोरिया प्रक्रिया सुचारु भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाले बुधबार विज्ञप्तिमार्फत भ्रमपूर्ण सूचना सम्प्रेषणले प्रणालीलाई नकारात्मक असर पर्नसक्ने भएकाले यस्ता अमर्यादित कार्य नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । सो शाखाले ईपीएसको वेबसाइटमा प्रकाशित हुने सूचनामा मात्र विश्वास गर्न पनि सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया