हाइकु केन्द्रको वार्षिकोत्सव : अन्तर्राष्ट्रिय वाचन सहभागिता

  साउन ११, २०७८

काठमाडौँ, साउन १० : नेपाल हाइकु केन्द्र (नेहा)को आठौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज अन्तर्राष्ट्रिय हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपालबाट बमबहादुर जिताली, श्याम रिमाल, मित्रबन्धु पौडेल, शिरोमणि दवाडी, गुप्तबहादुर श्रेष्ठ, किरण पौडेल, ऋषि बराल, महानन्द ढकाल, बद्री ढकाल हीरामणि, छविलाल खड्का, सुमी लोहनी, सुष्मा मानन्धर र चन्द्रावती अधिकारी तथा जापानबाट प्रकाश पौडेल माइला र सुष्मा ओमाता, दक्षिण कोरियाबाट प्रमोद सारङ, नर्वेबाट रामकुमार पाँडे, बेलायतबाट कृष्ण बजगाईँ र इजरायलबाट कमला भण्डारीले जुममार्फत वर्षा, मातापिता र गुरु, जन्मभूमि, राजनीतिक विकृति, हाइकुको बखान, बन्दाबन्दी, समुद्र, शिवपुरी आदि विषयमा नेपाली र अङ्ग्रेजी भाषामा आआफ्ना हाइकु वाचन गर्नुभयो । साहित्यकार बमबहादुर जिताली र सुमी लोहनीले भने लय हालेर हाइकु वाचन गर्नुभयो ।

हाइजिन दवाडीले कार्यक्रम संयोजन र मित्रबन्धुले प्रविधि संयोजन गरेको सो कार्यक्रममा केन्द्रका अध्यक्ष प्रा पाँडेले जापानमा आयोजित दशौँ विश्व हाइकु सम्मेलन(सन् २०१८) र कोरियामा हालै आयोजित हाइकु वाचनमा संस्था जोडिन पाएको, अन्तरराष्ट्रिय जर्नलमा नेपाली हाइकु प्रकाशन भएको, निकट भविष्यमा दुई हाइकु कृति अङ्ग्रेजीमा आउने भएको, दुर्गम क्षेत्रका हाइजिनलाई पनि समावेश गरिने र तालीम पनि दिइने बताउनुभयो । उहाँका अनुसार कोरोना महामारी अन्त्य भएमा सन् २०२१ मा नेपालमा हाइकु सम्मेलन गरिने छ । उहाँले साधनासहित गुणस्तरीय हाइकु लेखनमा पनि जोड दिनुभयो । उपाध्यक्ष मित्रबन्धुले संस्थाले स्थलगत हाइकु लेखन र वाचन, प्रशिक्षण, कोठेगोष्ठी तथा प्रकाशनका काम पनि गर्दै आएको जनाउँदै हाइकुका माध्यमबाट अन्तरराष्ट्रिय रुपमा जोडिन पाएकामा खुशी व्यक्त गर्नुभयो ।

अन्तरराष्ट्रिय नेपाली समाजका अध्यक्ष तथा केन्द्रका अन्तरराष्ट्रिय संयोजक प्रकाश माइलाले हाइकुको अन्तरराष्ट्रियकरणमा जोड दिनुभयो भने समकालीन नेपाली साहित्यका अध्यक्ष कृष्ण बजगाईँले अङ्ग्रेजी भाषामा हाइकु सङ्ग्रह र हाइकु ज्ञान समेटिएको हाते किताब प्रकाशन गर्नुपर्ने सुझाव दिनुभयो । सो अवसरमा दिवङ्गत हाइकु समालोचक इन्द्र माली, हाइजिन सुवर्णराम जोशी र कोमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरियो । पाँच– सात –पाँच अक्षरमा तीन हरफमा प्रकृति, मौसम र संस्कृतिका विम्बका साथ हाइकु लेखिन्छ ।

तपाईको प्रतिक्रिया