कछुवा गतिमा नदी तटबन्ध, ११ वर्षमा ३१ प्रतिशत मात्र प्रगति

  साउन १०, २०७८

झापा, साउन १० : नदी कटान नियन्त्रणको जिम्मा पाएको जनताको तटबन्ध कार्यालयले लक्ष अनुसार काम गर्न सकेको छैन । झापा जिल्लाका ६ वटा नदीको कटान नियन्त्रणको काम गरिरहेको जनताको तटवन्धन कार्यक्रम फिल्ड कार्यालय नम्बर १ झापाले काम सुरु गरेको ११ बर्षमा लगभग एक सय किलोमिटर मात्र तटबन्धन निमार्ण गरेको छ । जिल्लाका मेची, बिरिङ, कन्काई, कमल, रतुवा र मावा खोलामा कुल ३ सय ३ दशमलव ६६ किलोमिटर तटवन्ध गर्नुपर्ने डीपीआरमा उल्लेख छ । सोही अनुसार कुल तटबन्धको काम सम्पन्न गर्न १८ अर्ब बजेट आवश्यक पर्ने देखिएको छ ।

बजेट अभावका कारण लक्ष अनुसारको प्रगति हुन नसकेको हो । डिपिआर अनुसार हालसम्म एक तीहाइमात्र काम भएको छ । यही गतिमा काम हुने हो भने पूरा कामसक्न अझै २० वर्षभन्दा बढी समय लाग्ने देखिन्छ । नदी कटान नियन्त्रण कुनै पनि सरकारले प्राथमिकतामा नपरेका कारण बजेट कम बिनियोजन हुने गरेको छ । हरेक वर्षादमा आउने बाढीले नदी आसपासमा रहेका बस्ती, खेती योग्य जमिन बगाएर लाने गरेको छ । जसका कारण तटवन्धनको काम कछुवा गतिमा भएको छ । यस हरेक बर्ष नदी कटानबाट धेरै ठूलो धनजनको क्षती बेहोर्नुपरिरहेको छ ।

जनताको तटबन्धन कार्यक्रम फिल्ड कार्यालय नम्वर १ झापाका सूचना अधिकृत पुस्प गौतमले डीपीआर अनुसार कार्यालयले हालसम्म ३१ प्रतिशत मात्र भौतिक प्रगति भएको जानकारी दिनुभयो । कटान नियन्त्रणसम्बन्धी काम गरिरहेका छ वटा नदी र जोखिमयुक्त सदरमुकाम बचाउ कार्यक्रम समेत गरी हालसम्म ९४ दशमलव ०४ किलोमिटर तटबन्धनको काम सम्पन्न भएको छ । यसमा दुई अर्ब ८५ करोड ९४ लाख रुपियाँ बजेट खर्च भइसकेको छ ।

यो कार्यालयले बिस २०६६ सालदेखि जिल्लामा नदी कटानबाट ठूलो क्षति गर्ने नदीको स्थायी तटबन्धनको काम अघि बढाइरहेको छ । अधिकृत गौतमका अनुसार कार्यालबाट आर्थिक बर्ष २०७७/०७८ मा ११ दशमलव ३३ किलोमिटर तटबन्धन गरिएको छ । उक्त कामका लागि पाँच करोड ३ लाखभन्दा बढी खर्च भएको छ । तटबन्ध निर्माण गरिएपछि हालसम्म नदी किनारामा रहेका तीन हजार ७२४ घरधुरीका १७ हजार ३४० जना सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै दुई सय २७ हेक्टरभन्दा बढी जग्गा नदी उकास भएको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा मात्र मेची नदीमा एक किलो मिटर २२७ मिटर पक्की तटबन्धन निर्माण गरिएको छ । यहाँबाट आठ हेक्टर जमिन नदी उकास भएको छ । त्यसैगरी विरिङ् नदीमा दुई किलोमिटर ३५२ मिटर तटबन्धन गरिएको छ । कन्काई नदीमा दुई किलोमिटर ८३७ मिटर तटबन्ध निर्माण गरिएको छ । जसबाट १०८ हेक्टर जमिन नदी उकास भएकाे छ । कमल नदीमा दुई किलोमिटर ४ सय १० मिटर तटबन्धन गरिएको छ । जसबाट ४५ दशमलव ५० हेक्टर जमिन उकास भएको छ ।

कार्यालयले रतुवा र मावा नदी अन्तर्गत मोरङ्तर्फ ५९८ मिटर पक्की तटबन्ध गरीएको छ । सोही नदीको झापा तर्फ दुई किलोमिटर ३० दशमलव ५० मिटर तटबन्धन गरिएको छ । जनताको तटबन्ध कार्यालयले जोखिमयुक्त जिल्ला अन्तर्गत सदर्मुकाम भद्रपुर नगरपालिकामा मेची नदीमा ८ सय ८४ मिटर तटबन्ध निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया