हालसम्म १३ राष्ट्रले ओलम्पिकमा पदक जित्यो

  साउन ०९, २०७८

काठमाडौं, साउन ९ : टोकियो ओलम्पिकको दोस्रो दिनको खेल जारी रहदा हालसम्म १३ राष्ट्रले पदक हात पारेको छ । चीनले दुई स्वर्णसहित तीन पदक जितेर शीर्ष स्थानमा रहेको छ ।

महिला १० मिटर शूटिङ्गमा स्वर्ण जितेर टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेको चीनले हालसम्म दुई विधामा स्वर्ण पदक र एउटा कास्य पदक जितेको छ । महिला ४९ किलोग्राम तौल समूहमा चीनकी झिहुई हौले स्वर्ण पदक जित्नुभएको छ । भारतकी चानु सैखोमले उक्त बिधामा रजत पदक जित्नुभयो ।

आयोजक जापानले एक स्वर्ण र एक रजत पदक जितेको छ । जापानका नाओहिसा तकातोले पुरुष ६० किलोग्राम तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ । जापानकी फुना तोनाकीले महिला ४८ किलोग्राम जुडोतर्फ रजत पदक जितेको हो ।

इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभोले एक एक स्वर्ण पदक जितेको छ । इक्वेडरका रिचर्ड कारापाजले साइक्लिङ्ग पुरुषतर्फ स्वर्ण पदक जित्नुभएको छ । महिला ४८ किलाग्राम जुडोतर्फ कोसोभोकी डिष्ट्रिया राश्निकीले स्वर्ण पदक जित्नुभयो ।

बेल्जियम, भारत, नेदरल्याण्ड्स, रुस, सर्बिया, चाइनिज ताईपेईले एक एक रजत पदक जितेको छ । फ्रान्स, इन्डोनेसिया, कजाखास्तान, मेक्सिको, मंगोलिया, स्लोभेनिया, स्वीटजरल्याण्ड र यूक्रेनले एक एक कास्य पदक जितेको छ । दक्षिण कोरियाकी आन सन र किम जे डिअकले आर्चरी ‘मिक्स्ड’तर्फ स्वर्ण पदक जित्नुभएको छ ।

तपाईको प्रतिक्रिया