प्रा सुवेदीबाट नेपाल ल क्याम्पसलाई १० लाख र पुस्तक सहयोग गर्ने

  साउन ०९, २०७८

लण्डन, साउन ८ : बेलायतमा विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानवअधिकार विषयको प्राध्यापन गर्दै आउनुभएका प्रा डा सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरिएका अन्तर्राष्ट्रिय कानून र मानवअधिकारसम्बन्धी पुस्तकसहित १० लाख त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

बेलायतको हल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा विशिष्ट श्रेणीमा प्रथम हुनाका साथै अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधिको उपाधि हासिल गर्नुभएका प्रा सुवेदीले अध्ययन तथा प्राध्यापनका क्रममा संकलन गर्नुभएको आफैद्वारा प्रकाशित पुस्तक आफैले कानूनमा स्नातक गरेको उक्त क्याम्पसलाई दिने निधो गर्नुभएको हो । उहाँले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जानकारी दिनुभयो ।

लिड्स, लण्डन र अक्सफोर्डलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका प्रा सुवेदीको निजी संकलनमा रहेका अन्तर्राष्ट्रियस्तरका यस्ता ग्रन्थले नेपालका वर्तमान र भावी पुस्ताका छात्रछात्रा लाभान्वित हुने भएका छन् ।

उहाँले प्रदान गर्ने रु दश लाख नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक ब्याजबाट प्रत्येक वर्ष नयाँ–नयाँ ग्रन्थ उक्त क्याम्पसको पुस्तकालयमा थप्दै जाने व्यवस्था पनि गरिएको छ । प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै क्याम्पस पधाधिकारीले प्रा सुवेदीलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया