शिक्षण अस्पतालका कर्मचारीलनाई रोकिएको तलब–भत्ता दिँइदै

  साउन ०९, २०७८

राँझा, साउन ८ : नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको रोकिएको तलबभत्ता दिने भएको छ । आन्दोलनमा उत्रिएको सातौँ दिनमा व्यवस्थापन समितिबाट कर्मचारीको माग पूरा गर्ने भन्दै लिखित सहमति भएपछि कर्मचारीले व्यवस्थापन तथा प्रशासनमा लगाएको ताला खोलेका छन् ।

विगत लामो समयदेखि तलब भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका शिक्षण अस्पताल नेपालगञ्जका कर्मचारीको माग व्यवस्थापन पक्षले सम्बोधन गरेको छ । व्यवस्थापन पक्षका तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिडेटका उपनिर्देशक श्यामकुमार शर्मा तथा आन्दोलित कर्मचारीका तर्फबाट मुनिर खान, अशोककुमार दीक्षित र विजयकुमार त्रिपाठीले उक्त लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

वैशाख महिनाको तलब साउन १० गतेभित्र, जेठ महिनाको तलब साउन २० गतेभित्र र असार महिनाको तलब भदौ ७ गतेभित्र उपलब्ध गराउने साथै फरक तलब, बीमा, सामाजिक सुरक्षा कोषबापतको रकम साउन मसान्तसम्म दिने र उपदानबापतको रकम असोज महिनासम्म प्रत्येक कर्मचारीको व्यक्तिगत खातामा राखिदिने सहमति भएको खानले बताउनुभयो ।

उहाँका अनुसार हटाइएका कर्मचारीका बारेमा शनिबार बसेर छलफलका माध्यमबाट टुंगो लगाइने भएको छ । कलेजले तलबभत्ता समयमा उपलब्ध नगराएको भन्दै तीन युनियनले गत असार ९ गते व्यवस्थापन पक्षसँग सातबुँदे मागपत्रमा ५१ बुँदे सहायक माग राखेर आन्दोलन गरेका थिए ।

तपाईको प्रतिक्रिया