अष्ट्रेलियाले बङ्गलादेशमा पाँच टी ट्वान्टी खेल्ने

  साउन ०८, २०७८

काठमाडौं, साउन ७ : अष्ट्रेलियाले बङ्गलादेशमा पाँच खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टी शृङ्खला खेल्ने भएको छ । बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आगामी जुलाई २९ मा अष्ट्रेलियाली क्रिकेट टोलि ढाका आइपुग्ने पुष्टि गरेको छ ।

गएको चार वर्षमा अष्ट्रेलियाले पहिलो पटक बङ्गलादेश भ्रमण गर्न लागेको हो । यसअघि सन् २०१७ मा उसले दुई टेष्ट शृङ्खला खेल्न बङ्गलादेश भ्रमण गरेको थियो । सुरक्षाको कारण देखाउँदै अष्ट्रेलिया, न्युजिल्याण्ड र इंग्ल्याण्ड क्रिकेट टोलीले बङ्गलादेश र पाकिस्तानमा गएर क्रिकेट खेल्न प्राथमिकतामा राख्ने गरेको छैन ।

बीसीबीका कार्यकारी प्रमुख निजामुद्दीन चौधरीले दुबै टोलीले स्वास्थ्य मापदण्डको पालना गर्दै दश दिनसम्म क्वारेन्टिनमा बसेपछि शृङ्खलाका लागि खेल मैदानमा उत्रिनेछ । जिम्बाबवे भ्रमणमा रहेको बङ्गलादेश क्रिकेट टोली ढाका आउने बित्तिकै होटेल क्वारेन्टिनमा बस्ने र अष्ट्रेलियाली क्रिकेट टोली ढाका आइपुगेको पाँच दिनपछि मात्रै पहिलो टी ट्वान्टी खेल्न पाउनेछ ।

अगष्ट तीन देखि नौसम्म अष्ट्रेलियाले पाँच खेलको टी ट्वान्टी खेल्नेछ । विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा हुने उक्त भ्रमणले दुबै देशलाई फाइदा पुग्ने क्रिकेट अष्ट्रेलियाले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया