नरैनापुर औद्योगिक ग्रामको डीपीआर तयार

  साउन ०२, २०७८

नेपालगञ्ज, साउन २ : बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिने ‘नरैनापुर औद्योगिक ग्राम’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

नरैनापुर–४, खोदवामा करिब ४७ करोडको लागतमा ३७ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्न एरिकम इन्जिनियरिङ सर्भिस ललितपुरले डीपीआर तयार पारेर बुझाएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।

उहाँले नरैनापुर जिल्लाको मात्र नभई यस क्षेत्रकै सबैभन्दा पिछडिएको क्षेत्र भएकाले यहाँ निर्माण हुन लागेको औद्योगिक ग्रामले यस पालिकाको मुहार नै फेर्ने दाबी गर्नुभयो ।

सरकारले देशभरिका सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने कार्यक्रमअन्तर्गत बाँकेको खजुरा र नरैनापुर गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो । खजुरामा औद्योगिक ग्रामको निर्माण प्रक्रिया अगाडि बढिसकेको छ भने नरैनापुरको डीपीआर तयार भएको छ ।

४६ करोड ७९ लाख ९८ हजार रुपियाँको लागतमा निर्माण हुने औद्योगिक ग्रामभित्र विभिन्न भौतिक पूर्वाधार निर्माण गर्नेगरी डीपीआर तयार गरिएको एरिकम इन्जिनियरिङ सर्भिसका प्रबन्ध निर्देशक मन्दिपकुमार ठाकुरले बताउनुभयो ।

उहाँले सो औद्योगिक ग्रामभित्र पहिलो चरणमा प्रशासनिक भवन, हेल्थ पोस्ट, गार्ड रुम, पार्क, बाटो, खानेपानी, विद्युतीकरणलगायतका काम गरिने बताउनुभयो । औद्योगिक ग्राममा ठूला, मझौला तथा साना गरेर १५० उद्योग सञ्चालन गर्न सकिने पनि प्रबन्ध निर्देशक ठाकुरले बताउनुभयो ।

स्थानीय सिप र कच्चा पदार्थको प्रयोग गरी सञ्चालन हुने उद्योगलाई प्रोत्साहन गर्न औद्योगिक ग्रामको निर्माण गर्न लागिएको नरैनापुर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो । औद्योगिक ग्राम निर्माणका लागि व्यवस्थापन गरिएको ३७ बिघा जग्गालाई तारबार गर्ने तथा चौकीदार बस्ने घर बनाउने काम सबैभन्दा पहिले गरिने कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो ।

नरैनापुर गाउँपालिकामा सडक र विद्युत् विस्तार भइसकेको र नेपालगञ्जबाट धेरै टाढा पनि नरहेकाले औद्योगिक ग्रामले लगानीकर्तालाई ठूलो सङ्ख्यामा आकर्षित गर्ने विश्वास गरिएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र, खजुरा र नरैनापुरमा औद्योगिक ग्राम निर्माण भएमा यो जिल्ला पश्चिम नेपालकै प्रमख आर्थिक केन्द्र बन्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया