कर्णाली करिडोर अन्तर्गतकाे च्यादुक भीरमा बाटाे छिचाेलियाे

  असार ३१, २०७८

हुम्ला, असार ३१ : एक वर्षपछि कर्णाली करिडोर अन्तरगत हिल्सा सिमकोट खण्डको च्यादुक भीर बिष्फोट गरेर सडक निर्माण गर्ने कार्य सम्पन्न भएको छ । भीर बिष्फोट गर्ने र मेशिनबाट निर्माण गर्ने कार्य एकसाथ सञ्चालन गर्दा सडकको निर्माण कार्य सम्पन्न भएको हो ।

एक वर्ष अगाडिदेखि निर्माण कार्य सुरु भएर सम्पन्न हुन नसकेको कर्णाली करिडोर अन्तरगतको हेक्पा खोला च्याछरा खण्डको च्यादुक भीर बिष्फोट गर्ने कार्य र सडक निर्माण गर्ने कार्य सम्पन्न भएको आयोजनाका प्रमुख बिसनदास लामाले बताउनुभयो । कडा र चट्टानी भीर भएको कारण काम गर्न निक्कै समय लागेको उहाँले बताउनुभयो ।

उक्त भीर पचास मिटर लम्बाई रहेको थियो । भीर बिष्फोट गरेर सात मिटर चौढा र पच्चीसदेखि तीस मिटर अग्लो भीर बिष्फोट गरेर सडक निर्माणको कार्य गरिएको छ । सडकको जमिन सम्याउने र छेउमा ग्याबिन वाल लगाउने कार्य समेत सम्पन्न भएको छ । सडक निर्माण भएर गाडी समेत गुडेको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि छिरिङ लामाले बताउनुभयो ।

यो भीरको काम सम्पन्न भएपछि हाल गाडी च्याछरा भीरसम्म पुगेको उहाँले बताउनुभयो । हिल्सा सिमकोट सडक खण्डको ९५ किलो मिटर सडकमा अब पचास मिटर मात्र च्याछरा भीरको चट्टानी भागमा लेबल मिलाउने र बिष्फोट गर्ने कार्य बाँकी रहेको आयोजनाले जनाएको छ । यो काम पनि साउनको पहिलो हप्तासम्म सम्पन्न गरेर गाडी गुडाउने गरि कार्य भई रहेको निर्माण कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया