सुरु भएन नौबस्ता औद्योगिक क्षेत्र निर्माण

  असार २३, २०७८

नेपालगञ्ज, असार २३ : नौबस्ता औद्योगिक क्षेत्र परियोजनाको काम अझै पनि सुरु हुन सकेको छैन । निवर्तमान सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७७ फागुन ११ औद्योगिक क्षेत्र शिलान्यास गरेको चार महिना बितेको छ तर काम भने सुरु भएको छैन ।
औद्योगिक क्षेत्र निर्माणस्थलमा तीन सय जति स्थानीयले घर टहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण निर्माण कार्य सुरु गर्न नसकिएको हो ।

सो परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड रुपियाँ बजेट छुट्याएको थियो तर काम सुरु नहँुदा सो बजेट चालू आर्थिक वर्ष २०७७/७८ मा खर्च हुन नसकेका नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटकपटकको प्रयास सफल हुन नसकेपछि निर्माण कार्य सुरु हुन नसकेको हो ।

औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ बिगाहा क्षेत्रफलमा तीन सय हाराहारीमा घर निर्माण गरेर बस्ती बनाइएको छ । स्थानीयले सो बस्ती हटाउन नमान्दा औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेको छैन । २०७२ साल चैत १ गते औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेकोमा छ वर्ष बिते पनि हालसम्म परियोजनाको डीपीआर र ईआईएबाहेक अरू कुनै काम गर्न नसकेको परियोजना व्यवस्थापन कार्यालयले जनाएको छ ।

व्यवस्थापन कार्यालयका प्रमुख पुनले बस्ती व्यवस्थापनका लागि प्रयास गरिए पनि कोरोनाका कारण अगाडि बढाउन नसकिएको बताउनुभयो ।
काम नहुँदा ६१ करोड रुपियाँ खर्च नभए पनि त्यो बजेट फ्रिज नहुने र आगामी वर्ष खर्च गर्न सकिने उहाँले बताउनुभयो । घर टहरा बनाएर बसेकाका लागि ३१ बिगाहा जग्गा छुट्याउने प्रस्ताव अघि सारेर सहमतिको प्रयास भइरहेको पुनले बताउनुभयो ।

महामारीका कारण सहमतिको काम अगाडि नबढे पनि अब केही दिनमै फेरि प्रयास सुरु गरिने उहाँको भनाइ छ । नौबस्ता औद्योगिक क्षेत्रको डीपीआरअनुसार त्यहाँ तीन सय उद्योगहरू स्थापना हुनेछन् । यसले लुम्बिनी र कर्णाली प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने उद्योगी व्यवसायीको भनाइ छ ।

तपाईको प्रतिक्रिया