एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनको मिति तय हुनसक्ने

  असार १९, २०७८

काठमाडौं, असार १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे शुरु हुने बैठकमा आज संगठनात्मक प्रस्ताव प्रस्तुत भई त्यसउपर छलफल हुने बताइएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार महासचिव ईश्वर पोखरेलले आज बैठकमा संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभएपछि छलफल शुरु हुनेछ । एमालेको १३ औं केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बसेको थियो ।

आजको बैठकमा महाधिवेशनको मिति तय गर्नेबारेमा निर्णय हुनसक्ने पार्टी कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । यसअघि एमालेले दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने तय गरेको थियो । पार्टी एकता कायम गर्ने उद्देश्यसाथ गत बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटी विघटन गरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको थियो ।

तर नेता माधवकुमार नेपाल पक्षका नेताहरु बैठकमा सहभागी नजनाउनु भएपछि महाधिवेशनको मिति पुनः तय गर्न लागिएको हो । हिजो शुक्रबार बसेको बैठकले नेता नेपाल पक्षका नेताहरुलाई पनि बैठकका लागि आव्हान गरेको थियो । तर कोही नेताको उपस्थिति रहेन । हिजोको बैठकमा उपाध्यक्ष बामदेव गौतमको सहभागिता रहेको थियो । आजको बैठकमा पनि नेता नेपाल पक्षका नेताहरु सहभागी हुने नहुनेबारे कुनै औपचारिक तथा अनौपचारिक जानकारी आइनसकेको कार्यालय सचिव तामाङले बताउनुभयो । एमालेको दशौं महाधिवेशनको मिति सम्भवतः केही अगाडि सर्न सक्ने अनुमान नेताहरुको छ ।

आगामी असोज मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नेबारेमा आजको बैठकमा छलफल हुने बताइएको छ । असोजमा महाधिवेशनको मिति तय हुन नसके २०७९ साल जेठतिर सर्न सक्ने विकल्पबारेमा पनि छलफल हुने नेताहरुको भनाइ छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरिदिएमा कात्तिक र मंसिरमा प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने भएकाले एमालेको महाधिवेशन कि अघि वा पछि धकेलिने सम्भावना छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि आफ्नो महाधिवेशन भदौमा गर्ने तयारीमा जुटेको छ ।

सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी रहेकाले अर्को सातासम्म फैसला आउने अनुमान छ । एमालेको आज बस्ने चौधौं बैठकमा पार्टीको संरचनागत सुधारका बारेमा पनि छलफल हुने बताइएको छ । नेता नेपाल पक्षका नेताहरुलाई पार्टी एकताको पक्षमा ल्याउने दोस्रो तहका नेताहरुले प्रयास जारी राखेकाले एकताको सम्भावना कायमै रहेको नेताहरुको भनाइ छ । यद्यपि नेता नेपाल पक्षले नयाँ नयाँ शर्त अगाडि सार्दै गएपछि एकताको सम्भावना क्षीण बन्दै गएको कतिपय नेताहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया