कट्टरपन्थी रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित

  असार ०६, २०७८

काठमाडौं, असार ५ : कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । उहाँले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । बीबीसीका अनुसार रईसी इरानका वरिष्ठ न्यायधीश हुनुहुन्छ । उहाँ अत्यन्तै रुढीवादी बिचारधाराका हुनुहुन्छ । रईसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उहाँको संलग्नता रहेको बताइएको छ ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाउनुभएको थियो । रईसी आफूलाई भ्रष्टाचार बिरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वकत्र्ताको रुपमा रुचाउनुहुन्छ । इरानमा सर्बोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी हुनुहुन्छ । रईसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्नुहुनेछ ।

इरान पुरातनवादी शिया इस्लामिक मूल्य मान्यतालाई पछ्याउँछ । सन् १९७९ यता इरानमा राजनीतिक स्वतन्त्रतामा बन्देज लगाइएको छ । धेरैजसो इरानीले भने पछिल्लो पटक भएको चुनाब रईसीलाई जिताउनकै लागि भएको बिश्वास गरेको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति चुनाबमा समेत अहिलेसम्मकै सबैभन्दा कम मतदान भएको थियो । सन् २०१७ मा भएको राष्ट्रपति निर्वाचनमा ७० प्रतिशत मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया