भारतीय धावक मिल्खा सिंहको निधन, सम्मानसहित अन्त्येष्टि गरियो

  असार ०६, २०७८

काठमाडौं, असार ५ : चार पटक एशियाली खेलकुदका च्याम्पियन बन्नुभएका भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुई दिन अघि मात्रै कोभिड १९ को परीक्षण रिपोर्ट निगेटिभ आएको मिल्खाको शुक्रबार अबेर राति उपचारकै क्रममा मृत्यु भएको हो । ९१ वर्षीय मिल्खाको चण्डीगढस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

मिल्खा सिंहका छोरा एवम् गल्फर जीव मिल्खा सिंहले बुवाको मृत्युको पुष्टि गर्नुभएको छ । गत् आईतबार मात्रै मिल्खाकी श्रीमति निर्मल कौरको समेत मोहालीमा उपचारकै क्रममा निधन भएको थियो । भारतीय प्रधानमन्त्री र राष्ट्रपतिले समेत मिल्खाको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

सन् १९२८ को नोभेम्बर ३० मा हालको पाकिस्तानमा अवस्थित गोबिन्दपुरमा जन्मिनुभएका मिल्खा कार्डिफमा सन् १९५८ मा आयोजित कमनवेल्थ खेलकूदमा स्वर्ण पदक जित्ने पहिलो भारतीय धावक बन्नुभयो । उहाँले ४६.६ सेकेण्डमा चार सय मिटरको दूरी पार गर्नुभएको थियो । उहाँले दक्षिण अफ्रिकी मेल्कम स्पेन्सलाई पछि पार्दै स्वर्ण जित्नुभएको थियो । उक्त कीर्तिमान पचास वर्षपछि मात्रै कृष्णा पूणियाँले भङ्ग गर्नुभयो ।

तपाईको प्रतिक्रिया