किसानलाई यस वर्ष मल पाउन सहज

  असार ०५, २०७८

बाँके, असार ५ : बाँकेमा यस वर्ष किसानले सहजै रासायनिक मल प्राप्त गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले सहकारीमार्फत किसानहरूलाई मागअनुसारको रासायनिक मल उपलब्ध गराइरहेको जनाएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले पछिल्लो समय दैनिकजसो कार्यालयमा रासायनिक मल आउने र सहकारीलाई तत्कालै उपलब्ध गराइरहेको बताउनुभयो । “कम्पनीमा शुक्रबार मात्रै पाँच हजार बोरा युरिया मल आइपुगेको छ । यस वर्ष किसानका लागि मलको अभाव अहिलेसम्म छैन,” कार्यालय प्रमुख पौडेलले भन्नुभयो, “अहिले किसानले मागेअनुसारको मल पाइरहेका छन् ।”

चालू आवमा करिब दुई हजार ५०० मेट्रिक टन मल नेपालगञ्ज आइपुगेको छ । कृषि सामग्री कम्पनीले निषेधाज्ञालाई मध्यनजर गर्दै एक दिनमा एउटा स्थानीय तहका सहकारीलाई मात्रै मल उपलब्ध गराउँदै आएको छ । अहिले मलको अभाव नरहेको भन्दै उहाँले साउन १५ पछि थप मलको आवश्यकता पर्ने बताउनुभयो । जिल्लाका सहकारीहरूले कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङसँग मल खरिद गरी किसानलाई उपलब्ध गराउँदै आएका छन् ।

साल्ट्र ट्रेडिङ नेपालगञ्जका प्रमुख मनोज चौधरीले अहिले कार्यालयमा मलको पर्याप्तता रहेको जानकारी दिनुभयो । “कार्यालयले बाँके र बर्दियामा सहकारीलाई मल उपलब्ध गराउँदै आएको छ,” कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “करिब १० हजार बोरा युरिया, डीएपी मल अहिले मौज्जात छ । ” कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल सहकारीमार्फत किसानलाई उपलब्ध गराउँदै आएका छन् । ग्रामीण क्षेत्रमा रहेका सहकारीमा यस वर्ष किसानहरूले सहजै मल पाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया