किम जोङ अमेरिकासँग ‘वार्ता र सामना’का लागि तयारी गर्दै

  असार ०४, २०७८

काठमाडौं, असार ४ : उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकासँग ‘वार्ता र सामना’का लागि पूर्ण तयारी आवश्यक रहेको बताउनुभएको छ । अमेरिकामा नयाँ राष्ट्रपति जोइ बाइडेन निर्वाचित भए यता किम जोङको यो पहिलो प्रतिक्रिया हो ।

बीबीसीका अनुसार प्योङयाङमा यसै सातादेखि सुरु भएको शीर्ष नेताहरुको बैठकमा किम जोङले उक्त प्रस्ताब राख्नुभएको हो । “आफ्नो राज्यको आत्मसम्मान संरक्षण गर्न तथा आफ्नो स्वतन्त्र विकासको चासोका लागि अमेरिकाको सामना गर्न पूर्ण तयारी आवश्यक छ,” उहाँले भन्नुभयो । उत्तर कोरियाको सुरक्षा र शान्तिपूर्ण वातावरणको सुनिश्चित हुनुपर्ने उहाँले बताउनुभयो ।

विश्वका सात धनी राष्ट्रहरुको गत साता सम्पन्न बैठकले उत्तर कोरियालाई परमाणु कार्यक्रम त्यागेर वार्तामा आउन आव्हान गरेको थियो । लगत्तै उहाँले उत्तर कोरिया खाद्य अभावको सङ्कट झेलिरहेको बताउनुभएको थियो । अमेरिकी नयाँ सरकारले कूटनीतिक सञ्चार स्थापना गर्न पहल गर्दा उत्तर कोरियालीले यसअघि कुनै प्रतिक्रिया जनाएको थिएन ।

अमेरिकाले उत्तर कोरियाले परमाणु हतियार विकास गर्न बन्द गर्नुपर्ने जोड दिँदै आएको छ तर प्योङयाङले अमेरिकी प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि परमाणु परीक्षणलाई लिएर कडा आर्थिक प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया