सङ्गीतले बढाउँछ सङ्क्रमितमा मनोबल

  असार ०५, २०७८

काठमाडौँ, असार ५ : कोरोना (कोभिड–१९) सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्यकर्मीले सङ्गीत चिकित्सा विधि अपनाउने गरेका छन् ।
कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइसोलेसन सेन्टरमा दैनिक दुई पटक नाचगान गरी रमाइलो गरिँदै आएको छ । एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा रहेकादेखि सामान्य अवस्थाका सङ्क्रमितका लागि सङ्गीत चिकित्सा गर्ने गरेको चिकित्सक अनिश धामीले जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमित मानसिक रूपमा कमजोर हुने भएकाले उनीहरूको मनोबल बढाउन म्युजिक थेरापीले सहयोग गर्ने बताउनुभयो ।
केन्द्रमा कोरोना उपचारमा संलग्न नर्स दुर्गा सिलवालले हरेक बिरामीलाई सङ्गीत थेरापीले राम्रो प्रभाव पारेको बताउनुभयो । “कति बिरामी कोभिड भयो भनेर आत्तिने हुन्छन्, हामीले यो रोगसँग लड्ने हो, डराउने होइन । मनोरञ्जन गर्नुपर्छ । यसले आत्मबल बढाउनुको साथै मानसिक समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ”, उहाँले भन्नुभयो ।

केन्द्रमा अहिले सङ्क्रमित सङ्गीत थेरापीमा अभ्यस्त र आकर्षित भएका छन् । नर्स सिलवालले भन्नुभयो, “म्युजिक छैन भनेर बिरामीले नै सोध्छन् । नाच्न नसक्नेहरू म्युजिक सुनेर पनि आनन्द लिने गर्छन् । नाचेपछि व्यायाम पनि हुन्छ भनेर नचाउँछौँ ।” विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने केन्द्रका निर्देशक रामआधार यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गन्धर्व वेदअनुसार सङ्गीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ ।” सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने डा. यादवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया