मेगा बैंकले फोनबाटै २ लाख रुपैयाँसम्म ऋण दिने

  असार ०४, २०७८

काठमाडौं, असार ४ : मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा उक्त कर्जा सुविधा ल्याएको हो ।

उक्त सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ, संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम् २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् । बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना कुनै कागजात तत्कालै फोन मार्फत कर्जा पाइने भएकाले यो कर्जा सुविधा निकै छिटो र सहज हुने मेगा बैंकका डिजिटल तथा ईबैंकिङ प्रमुख विश्व सिंहले बताए ।

मेगा स्मार्ट बैंकिङ एपमार्फत् अनलाईन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ भने कर्जा लिन इच्छुक ग्राहकहरुले बैंकको शाखा भ्रमण गर्नु नपर्ने र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पर्दैन। कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत् पूरा भएको अवस्थामा बैंकले तुरुन्त कर्जा प्रवाह गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया