टेष्ट च्यापिम्यनशीपको उपाधिका लागि भारतले न्युजिल्याण्डको सामना गर्दै

  असार ०४, २०७८

काठमाडौं, असार ४ : टेष्ट क्रिकेटको करिब एक शताब्दी र ४० वर्षभन्दा लामो इतिहासमा पहिलो पटक च्याम्पियनशीपका लागि खेल हुँदैछ । न्युजिल्याण्ड र भारत उपाधिका लागि आजबाट स्पर्धा गर्दैछ । विश्व क्रिकेटको सबैभन्दा पारम्परिक स्वरुप रहेपनि टेष्ट च्याम्पियनको अवधारणा अहिलेसम्म मूर्त रुप लिन सकेको थिएन ।

करिब एक दशकसम्मको लामो कसरतपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को टेष्ट क्रिकेट च्याम्पियनशीपको आयोजनाले मूर्त रुप लिदैछ । विश्वकप क्रिकेट जस्ता ठूला उत्सव यसअघि प्रायः जसो मेलबर्न क्रिकेट ग्राउन्ड, द लर्ड्स, इडेन गार्डेनमा हुँदै आएको छ । तर टेष्ट च्यापिम्यनशीपको स्पर्धा भने इंग्ल्याण्डको साउथम्पटनमा हुँदैछ । कोभिड १९ को महामारीका बीच सुरु हुन लागेको पाँच दिने टेष्ट खेलमा दैनिक बढीमा चार हजार दर्शक मात्रै रङशालामा उपस्थित हुन पाउनेछन् । बेलायतमा हाल लकडाउन जारी रहेको छ ।

स्पर्धामा विश्व टेष्ट क्रिकेटका दुई उत्कृष्ट टोलिले स्पर्धा गर्दैछ । इंग्ल्याण्ड बिरुद्धको दुई टेष्टको श्रृखंला १–० ले जितेर न्युजिल्याण्डले भारतमाथि मनोदबाब बनाइसकेको छ । न्युजिल्याण्डले सन् १९९९ पछि पहिलो पटक इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराएर श्रृखंला हात पारेको छ । त्यसमाथि जितपछि न्युजिल्याण्ड अन्तर्राष्ट्रिय टेष्टको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिनुले समेत भारतमाथि थप दबाब सृजना गरेको छ । भारत दोस्रो स्थानमा छ ।

विश्व टेष्ट च्याम्पियनशीपको तालिकामा यसअघि अष्ट्रेलिया र इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको थियो । तर भारतले अष्ट्रेलिया भ्रमणमा घरेलु टोलिलाई हराएर विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा पुग्ने उसको सपनालाई साँघुरो बनायो । लगत्तै इंग्ल्याण्डलाई घरेलु मैदानमा हराएर भारतले अष्ट्रेलिया र इंग्ल्याण्ड दुबैलाई उपाधिको होडबाट बाहिर पठायो । न्युजिल्याण्ड भने दक्षिण अफ्रिका, श्रीलङ्का लगायतका अपेक्षाकृत कमजोर टोलि बिरुद्ध निरन्तर जित हात पार्दै उपाधिको यात्रा तय गरेको थियो ।

यसअघि सन् २०१९ को विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सेमीफाइनलमा भारतलाई हराएर फाइनलको यात्रा तय गरेको थियो । तर तनाब र रोमाञ्चपूर्ण फाइनलमा इंग्ल्याण्डलाई जित्न नसक्दा न्युजिल्याण्डको पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्ने सपना चकनाचुर भएको थियो । उक्त सपनालाई पुरा गर्न केन विलियम्सन नेतृत्वको न्युजिल्याण्ड क्रिकेट टोलि समक्ष उत्कृष्ट अबसरको रुपमा विश्व टेष्ट च्याम्पियनशीप आएको छ ।

बिराट कोहली नेतृत्वको भारतीय क्रिकेट टोलि समक्ष भने विश्वकप क्रिकेटको सेमीफाइनलमा बेहोरेको बदला लिने उपयुक्त अबसर आएको छ । कप्तान केन विलियम्सन आफैं पनि उत्कृष्ट लयमा हुनुहुन्छ । इंग्ल्याण्ड बिरुद्धको आफ्नो ‘डेब्यु’ खेलमै शतक लगाएका युवा ब्याट्सम्यान डेभन कोनवे र अनुभबी रोस टेलरको उपस्थितिलाई न्युजिल्याण्ड क्रिकेट टोलिको ब्याटिङ्गलाई सशक्त बनाएको छ । बलिङ्गमा टिम साउदी र ट्रेन्ट बौल्टको धारले भारतीय ब्याटिङ क्रमका लागि चुनौती थप्न सक्नेछ ।

भारत भने च्याम्पियनशीप खेल्न इंग्ल्याण्ड पुग्दा अभ्यास मात्रै गर्न पाएको छ । यद्दपी उसको ब्याटिङ्ग गहिराई र बलिङ्गमा बिविधतासँगै विश्वकै सबैभन्दा उत्कृष्ट स्पिनरको उपस्थितिले बलियो बनाएको छ । बिराट कोहली, रोहित शर्मा र चेतेश्वर पूजाराको ब्याटिङ्ग तथा मोहम्मद सामी र उमेश यादब र इशान्त शर्माको सटिक बलिङ्ग एवम् रबिन्दर जडेजाको अलराउन्ड प्रदर्शन र रबिचन्द्रन आश्विनको स्पिन बलिङ्गले भारतलाई प्रशंसकको रोजाईको पहिलो टोलि बनाएको छ । पछिल्लो पाँच खेलमध्ये भारतले लगातार तीनमा जित, चौथोमा हार र पाँचौंमा जित हात पारेको छ । न्युजिल्याण्डले भने पहिलोमा जित, दोस्रो बराबरी तथा अन्तिमको तीनवटामा जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया