भारतद्वारा कोइला निर्यात खुला

  असार ०३, २०७८

वीरगञ्ज, असार ३ : भारतले कोइला निर्यातमा लगाएको बन्देज खुला गरेको छ । त्यस आधारमा नेपालमा कोइलाको मूल्य १० देखि १५ प्रतिशत घट्ने अनुमान गरिएको छ ।

भारतले कोइला निर्यातमा रोक लगाएकाले नेपालमा इन्डोनेसिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिकालगायतका देशबाट कोइला आयात हुँदै आएको थियो तर अहिले भारतले कोइला निर्यातमा लगाएको बन्देज हटाएपछि भारतबाट कोइला नेपाल आउँदा कोइलाको मूल्य १० देखि १५ प्रतिशत घट्ने दाबी व्यवसायीको छ ।

कोल इन्डियाले भारतमा उत्खनन गरेकोे कोइला आफ्नो देशभित्र मात्र बिक्री वितरण गर्दै आएकामा गत जेठ २५ देखि पुरानो प्रावधानलाई संशोधन गर्दै कोइला निर्यात खोलेको हो ।

नेपालमा सञ्चालित इँटा उद्योग र सिमेन्ट उद्योगले कोइलाको प्रयोग धेरै गर्दै आएका छन् । हुन त खुला सिमानाको फाइदा उठाउँदै भारतबाट केही मात्रामा अवैध तवरबाट विभिन्न सीमा नाकाको बाटो हुँदै कोइला भित्रिए पनि अधिकांश कोइला इन्डोनेसिया, अफ्रिका, अस्ट्रेलिया, अमेरिकालगायतका देशबाट आयात हुने गरेको थियो ।

वीरगञ्जका कोइला आयातकर्ता व्यवसायी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा नै कोइलाको मूल्य बढेकाले अहिले भारतबाट कोइला आयात गर्दा पनि खासै मूल्य कम नहुने बताउनुहुन्छ तर समग्रमा अन्य देशबाट भन्दा भारतबाट कोइला आयात गर्दा १० देखि १५ प्रतिशत सस्तो पर्ने उहाँको कथन छ ।

पहिले भारतबाट भारतकै लागि भनेर बिल बनाएर भन्सार कर्मचारीलाई अनुरोध गरेर विभिन्न उपाय लगाउँदै केही मात्रामा भारतबाट कोइला आयात भइरहेकै एक व्यवसायीले नाम सार्वजनिक नगर्ने सर्तमा बताउनुभयो ।

भारतले कोइला निर्यात खुला गरेपछि बारा, पर्सा जिल्लामा रहेका इँटा उद्योग र सिमेन्ट उद्योगहरूलाई केही राहत भएको र अन्य मुलुकभन्दा भारतबाट आयात गर्दा कम समयमा ल्याउन सकिने अवस्था सिर्जना भएको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो ।

“आयात सहज र सस्तो भएमा उपभोक्ताले तिर्नुपर्ने मूल्य अर्थात् खरिद मूल्यमा आफैँ परिवर्तन आउँछ र यसले सबै उपभोक्तालाई केही राहत अवश्य हुन्छ,” अध्यक्ष गुप्ताले भन्नुभयो ।

तपाईको प्रतिक्रिया