अष्ट्रियाले उत्तरी म्यासिडोनियालाई हरायो

  जेठ ३१, २०७८

काठमाडौं, जेठ ३१ : यूरो कप फुटबल २०२० मा अष्ट्रियाले उत्तरी म्यासिडोनियालाई हराएको छ । समूह सी अन्तगर्त गए राति सम्पन्न खेलमा अष्ट्रियाले उत्तरी म्यासिडोनियामाथि ३–१ को जित हात पार्यो । यूरो कप फुटबल २०२० को इतिहासमा अष्ट्रियाको यो पहिलो जित हो ।

पहिलो हाफमा अष्ट्रियालाई १–१ को बराबरीमा रोकेको उत्तरी म्यासिडोनियाले दोस्रो हाफमा उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेन । लगातार दुई गोल खाएर उत्तरी म्यासिडोनियाले खेल ३–१ ले गुमाउन पुग्यो । पहिलो हाफको १२ औं मिनेटमा स्टेफान लैनरले सुरुवाती गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाउनुभयो ।

२८ औं मिनेटमा गोरान पाण्डेभले उत्तरी म्यासिडोनियाका लागि गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याउनुभयो । तर ७८ औं मिनेटमा सब्स्टिच्युट मार्को अर्नौटोभिक र ८९ औं मिनेटमा माइकल ग्रेगोरिस्कले दुई गोल गर्दा अष्ट्रियाले उत्तरी म्यासिडोनियामाथि ३–१ को सहज जित हात पार्न सफल भयो ।

जितसँगै अष्ट्रिया समूह सी को शीर्ष स्थानमा पुगेको छ । नेदरल्याण्ड्सले यूक्रेनमाथि जित हात पारेर तीन अङ्क बटुलेपनि ऊ दोस्रो स्थानमा छ । यूक्रेन तेस्रो र उत्तरी म्यासिडोनिया पूछारमा छ ।

तपाईको प्रतिक्रिया