साहसी आमाद्वारा चितुवासँग लडेर छोरीको उद्धार

  जेठ ३१, २०७८

तनहुँ, जेठ ३१ : सन्तानका लागि ‘‘अरुको लाखभन्दा आमाको काख प्यारो हुन्छ’’ भन्ने नेपालीमा एउटा भनाइ जस्तै तनहुँकी एक बालिका आमाको काखमा भएकाले मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल हुनुभएको छ । घरभित्रै पसेर काखैबाट नरभक्षी चितुवाले आक्रमण गरी बालिका लगेपनि आमाको साहसिक कदमले गर्दा व्यास नगरपालिका–१२ पालिङ,देउरालीकी साढे दुइ वर्षकी बालिका अनुष्का परियारको ज्यान बचेको हो ।

बालिकाको आमा मधु परियारले चितुवासँग लडेर छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको हो । आइतबार साँझ घरभित्र बीचमा बसेर खाना खाईरहेकै बेला छोरीलाई आक्रमण गरी घिसारेर चार कान्लामुनी करिब ३० मिटर तल मिटर पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो ।

आमाको साहसिक कदम र स्थानीयको मद्दत गर्दा बालिकाको जीवन बचाउन सकिएको स्थानीय बासिन्दाले बताएका छन् । मधुसँग चितुवको भिडन्त भइरहेको बेला घर माथीका कुमार गुरुङले चितुवाले लगेको बाटोलाई छेकेर काट्दै चितुवा भएको ठाउँमा पुगेपछि बच्चा छोडेर भागेको स्थानीय बासिन्दा तथा साविक घाँसीकुवा गाविसका अध्यक्ष श्यामकृष्ण लोहोनीले जानकारी दिनुभयो ।

साँझ परेकोले घरभित्र बसेर बीचमा छोरीलाई राखेर खाना पस्किदै थिएँ खानातिर हात बढाउँदा चितुवाले आक्रमण गरेर लगेको हिक्मत गरेर गुहार माग्दै पछिपछि लागेर चितुवाको मुखबाट खोसेर ल्याएको मधुले बताउनुभयो । बाँदरै लड्ने जस्तो भिरालो ठाउँमा दौडिदै, कान्लाबाट हामफाल्दै छोरीलाई चितुवाको मुखबाट तानेर बचाएको प्रत्यक्षदर्शी सुनसरी गुरुङले बताउनुभयो । ‘‘आमा पछि नलागेको भए बच्चालाई चितुवाले मार्ने थियो साहसिक कार्य देखेर गाउँवासी चकित परेको सो ठाउँ निवासी शारदा कौड्यालले बताउनुभयो । चितुवाको आक्रमणमा परी घाइते अनुष्काको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा उपचार भइरहेको छ ।

चितुवाले बालिकाको चिउँडोमा दुई वटा, घाँटी नजिक एक स्थानमा नङ्ग्रा गाडेर घाइते बनाएको उपचारमा सलग्न दमौली अस्पतालकी अहेब रामकला पन्थले बताउनुभयो । उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको अहेब रामकलाले जानकारी दिनुभयो । आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको कपडा समात्न भ्याएकाले बचाउन सकिएको मधुले बताउनुभयो । ‘‘ठूलो कान्ला र भिरालो ठाउँ भएकाले पहिला हिँड्न नसक्ने स्थानमा हामफाल्दै चितुवासँग जुधेर छोरीलाई बचाउन सके आफ्नो ज्यानभन्दा छोरीको ज्यान ठूलो ठानेर बचाउन सफल भएँ’’ मधुले गोरखापत्रसँग भन्नुभयो । छोरीलाई समातेर तान्दै गर्दा आफूसमेत आक्रमणमा पर्न लागेकाे र कुमार पनि चितुवातिर जाइलाग्न आए पनि चितुवा भागेको उहाँले बताउनुभयो ।

चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा गरी साढे दुई वर्षको अवधिमा १० जना बालबालिकाको मृत्यु भइसकेकाले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । आमा डराएर चितुवाको पिछा नगरेको भए बालिकाको ज्यान जाने अवस्था रहेकोले स्थानीयले शाससिक आमाको प्रशंसा गरेका छन् । ‘‘आमाले आफ्नो ज्यानको जोखिम मोलेरै भए पनि बालिकाको उद्धार गरेको पायौ’’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले भन्नुभयो । चितुवासँग लड्ने आमा भने सामान्य घाइते हुनुभएको छ ।

तपाईको प्रतिक्रिया