गाउँमा कोरोनाका बिरामीको सङ्ख्या बढ्दै

  जेठ ३१, २०७८

बाजुरा, जेठ ३१ : कोरोनाका बिरामी सहरमा केही कमी देखिएको बेला गाउँमा भने कोरोना सङ्क्रमण फेला परेको बताइएको छ । हिमाली, जगन्नाथ गौमुल, छेडेदह गाउँपालिका र बुढीगङ्गा त्रिवेणी नगरपालिकामा रुघाखोकी र ज्वरोसहित लक्षण भएका बिरामीमा एन्टिजेन्ट परीक्षण गर्दा अधिकांशमा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँमा त्रास बढेको छ ।यहाँको अन्य गाउँमा पनि पछिल्लो समय कोरोनाका सङ्क्रमित बढ्न थालेको पाइएको छ ।

केही दिनअघि जिल्लाको बुढीगङ्गा –७ को झालीको एक टोलमा २२ जनाको परीक्षण गर्दा सात जना सङ्क्रमित देखिएका थिए । उनीहरू केही दिनपछि सन्चो भई घर फर्किसकेका छन् । यस्तै, खप्तड छेडेदह गाउँपालिकामा १८ जना सङ्क्रमित देखिएका थिए । सो गाउँपालिकाका एक पुरुषको डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । उनको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो । वि.सं. २०७८ वैशाखमा पहिलो सातामा बुढीगङ्गा नगरपालिका वडा नं. १ र २ को कुँडी रावतवाडा डुँग्री बह्रमतोलामा धेरै रुघाखोकी ज्वरो लगायतका बिरामीहरु बढ्दै गएपछि सोही टोलबाट परीक्षण सुरु गरएको थियो ।

परीक्षण गर्दा त्यहाँ धेरै जनामा सङ्क्रमित भेटिएपछि गाउँमा निकै त्रास बढ्न थालेको छ । कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय सरकारले एक गाउँबाट अर्को गाउँ जान नदिने गरी निर्णय गरेको थियो । गाउँमा निषेधाज्ञा भए पनि भारतबाट फर्किनेहरुको क्रम बढेसँगै गाउँमा पनि कोरोना बढ्दै गएको बूढीगङ्गा नगरपालिका –१ का वडा अध्यक्ष ललित थापाले बताउनुभयो । बाजुराको बडिमालिका ४ बुढीनदा, ७१ बुढीगङ्गा, २३ त्रिवेणी नगरपालिका, १६ खप्तड छेडेदह, १५ गौमुल, ७८ हिमाली, ५५ स्वामिकार्तिक र २४ जगनाथ गाउँपालिकामा गरी अहिले २९१ जना कोरोना सङ्क्रमित रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार दुई हजार ४०९ जनाको पीसिआर तथा एन्टिजेन्टबाट कोरोना परीक्षण गर्दा ७९० जनामा कोरोना सङक्रमित भेटिएका हुन् । ती मध्ये १० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ४९० जना भन्दा बढीले कोरोना जितेर घर फर्किसकेका छन् । गाउँमा कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय तहमा एन्टिजेन परीक्षण पनि तीब्ररुपमा बढाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो ।

तपाईको प्रतिक्रिया