हराउँदै हल गोरु, बढ्दै यन्त्र

  जेठ ३१, २०७८

हेटौँडा, जेठ ३१ : मानो खाएर मुरी उब्जाउने असार लाग्नै लाग्दा दुई हल गोरु पालेर आफ्नो र गाउँलेको समेत खेतबारी जोत्दै आएका पिर्तीराम प्रजा (चेपाङ)लाई कुनै चटारो छैन । एक हल गोरु गोठमा अझै भए पनि तिनको उपयोगिता घट्दै गएको छ । त्यसको साटो कृषि यन्त्रको धुन उहाँमा चढेको छ ।

मकवानपुरको दुर्गम क्षेत्र कैलाश गाउँपालिका–७, ताम्लाङका पिर्तीरामलाई हाइसन्चो हुने एउटै कारण हो, गाउँमा मिनी ट्रिलर (जोत्ने मेसिन)को आगमन । अगुवा किसान पिर्तीराम भन्नुहुन्छ, “राति होस् वा दिउँसो, हल गोरुले गरेको कामभन्दा धेरै गुणा काम मिनी ट्रिलरले गर्छ ।”

पिर्तीरामको गाउँमा पावर ट्रिलर भित्रिएको केही वर्ष मात्रै भयो । नत्र पाखा पखेराका ससाना सुर्कामा समेत जोखिम मोलेर हल गोरु नार्नै पथ्र्याे । “एकातिर गोरुको महँगो ज्याला, अर्काेतिर हलीलाई पाल्नै मुस्किल,” पिर्तीरामले सुनाउनुभयो, “पावर ट्रिलर भएपछि राति पनि जोत्न सकियो साथै थोरै मात्रै ठाउँ ओगट्ने हुनाले ससाना सुर्कामा समेत चलाउन सकियो ।”

पिर्तीरामजस्तै दुर्गमका किसानलाई यतिखेर पावर ट्रिलर र मिनी ट्रिलरले निकै सुविधा पुगेको छ । मेसिन बिग्रँदा बनाउनुपर्ने र बन्दाबन्दी तथा नाकाबन्दी भएका बेला डिजेल नपाउने समस्याबाहेक मेसिन प्रयोगमा अरू कुनै समस्या नरहेको कैलाश गाउँपालिका–८, डोकोटारकै चित्रबहादुर चेपाङ बताउनुहुन्छ । “गत वर्ष कोरोनाले गर्दा डिजेल ओसार्न समस्या भएको थियो,” उहाँ भन्नुहुन्छ, “नत्र त गोरुले भन्दा १० गुणा बढी काम मिनी ट्रिलरले गर्छ ।”

कैलाश गाउँपालिकाका कृषि प्राविधिक उमेश गुरुङका अनुसार यतिखेर गाउँगाउँमा पावर ट्रिलर र मिनी ट्रिलरको उपयोगिता बढेको गोरखापत्र अनलाइनमा उल्लेख छ । गोरु पाल्दा दानापानी र घाँसपरालको झन्झट हुने भएकाले किसानले बिस्तारै कृषि यन्त्र प्रयोग गर्न थालेको उहाँले बताउनुभयो । खासगरी जोत्न र डल्ला फुटाउन मिनी ट्रिलर अत्यन्तै उपयोगी हुने गुरुङको भनाइ छ ।

कैलाश गाउँपालिकामा चालू आर्थिक वर्ष
(२०७७/७८)मा मात्रै ११३ जनाले ५० प्रतिशत अनुदानको मिनी ट्रिलर माग गरेका थिए तर विनियोजित छ लाख रुपियाँले १६ जना किसानलाई मात्र वितरण गरिएको कृषि प्राविधिक गुरुङ बताउनुहुन्छ । किसानको मागबमोजिम कृषिलाई आधुनिकीकरण गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने र मेसिन उपकरणमार्फत कृषिको उत्पादकत्वलाई वृद्धि गरिने लक्ष्य राखिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मुक्तानले बताउनुभयो ।

तपाईको प्रतिक्रिया