प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

  जेठ ३०, २०७८

जनकपुरधाम, जेठ ३० : प्रदेश २ को सरकारले अगामी आर्थिक वर्ष २०७८-०७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाको आइतबारको बैठकवाट सर्वसम्मतीले पारित भएको छ ।

नीति तथा कार्यक्रम माथि भएको छलफलको क्रममा प्रदेशसभाका सदस्यहरुले उठाएका विषय वस्तु र प्रश्नहरुको जवाफ दिने क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा छुटेका विषय वस्तुहरुलाई छलफलको क्रममा प्रदेशसभा सदस्यहरुले उठाएकोमा धन्यवाद दिदै ती विषयहरुलाई संशोधन गरी समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउनु भएका चार जना प्रदेशसभा सदस्य मध्ये तीनजना शिवचन्द्र चौधरी, सीता गुरुगं, सुन्दरबहादुर विश्वकर्माले मुख्यमन्त्रीको जवाफ पछि संशोधन प्रस्ताव फिर्ता लिएको र प्रदेशसभा सदस्य दिलिप साहको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्विकृत भएपछि सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री लालबाबु राउतलाई नीति तथा कार्यक्रम पारित गर्नका लागि प्रस्ताव गर्न निर्देशन दिनु भएको थियो ।

नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका विषय वस्तुहरुको सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारको मातहतमा थोरै कार्यालय र त्यो भन्दा पनि कम कर्मचारी भएको कारण विगतका वर्षहरुमा बजेट कार्यान्वयनमा समस्या भएको स्वीकार गर्दै अव प्रदेश सरकारले प्रदेश लोकसेवा मार्फत कर्मचारी व्यवस्थापन गर्ने र अगामी दिनमा यस प्रकारका कमीकमजोरी नहुने धारणा राख्नुभयो ।

उहाँले प्रदेश नं.२ का सरकार गत दुइ वर्षमा कोरोना महामारीको नियन्त्रण तथा रोकथाम र महामारीवाट पीडित भएकाहरुलाई केन्द्रित गरी बजेट खर्चेको धारणा राख्नुभयो । मुख्यमन्त्री राउतले कोरोना महामारीको रोकथामका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको भन्दै प्रदेश सरकारले प्रदेशको आठवटै जिल्लाबाट पीसीआर परिक्षणको व्यवस्थापन गरेको बताउनुभयो ।

उहाँले प्रदेश नं.२ का सरकारले आउने दिनमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकका लागि कम्तिमा ढेड लाख तलव दिने किसिमले नीति ल्याउन लागेको बताउनु यो । छलफलको क्रममा प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रम राम्रो भए पनि जनता सँग जोडिएका धेरै विषय वस्तु समावेश नभएको र समावेश भएका विषय वस्तु तथा कार्यक्रमको कार्यान्वयन कति हुने त्यो चाँसोको विषय बस्तु भएको भन्दै कार्यान्वयनको पक्षमा इमान्दार हुन प्रदेश सरकारलाई आग्र गरेका थिए । छलफलको क्रममा २६ जना प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रम माथि आफनो धारणा राखेका थिए । प्रदेश सभाको अर्को बैठक सोमबार एक वजे पुनह बस्ने गरी स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया