कर्णालीका चार सांसदकाे थमाैती गर्ने आदेशविरुद्ध एमाले भ्याकेटमा जाने

  जेठ ३०, २०७८

काठमाडौं, जेठ ३० : नेकपा (एमाले) ले पार्टीले कारवाही गरेका चार जना सांसदलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्बहाली गरिदिएपछि अन्तरिम आदेशविरुद्ध भ्याकेटमा जाने तयारी गरेको छ ।

पार्टीको निर्देशन विपरित फ्लोर क्रस गरेर कर्णाली प्रदेश संसदमा मतदान गरेका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई जेठ १० गते बसेको एमालेको केन्द्रीय महाधिवेशन समिति बैठकले कारवाही गर्ने निर्णय गरेको थियो ।

पार्टी कारवाहीको सो निर्णयविरुद्ध सांसदहरुले सर्वोच्चमा रिट दायर गर्नुभएपछि जेठ २७ गते बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशनमानसिंह राउतको इजलासले अन्तरिम आदेश दिंदै चारै जना सांसदहरुलाई पुनर्बहाली गरेको थियो । सो अन्तरिम अदेशलाई निस्क्रिय गरी पाउँ भन्दै एमाले भ्याकेटमा जाने तयारी गरेको एमाले स्थायी कमिटी सदस्य तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताउनुभयो ।

“भ्याकेटमा जानेबारे पार्टीभित्र छलफल भइरहेको छ, टुङ्गो लागेपछि कानून व्यवसायीहरुसँग थप परामर्श गरी भ्याकेटमा जाने निर्णय हुन्छ” नेम्वाङले थप्नुभयो, “भ्याकेटमा जाने भनेको संवैधानिक व्यवस्था र प्रक्रियाअनुसार हो, अन्तरिम आदेशको विरुद्धमा हामी सडकमा जाँदैनौं, कानुनी प्रक्रियाअनुसार भ्याकेटमा जान्छौं ।”

सरकारले ल्याएको पछिल्लो नागरिकतासम्बन्धी अध्यादेश पनि सर्वोच्चले अन्तरिम आदेशमार्फत खारेज गरेको थियो । तर त्यसविरुद्ध एमाले भ्याकेटमा नजाने स्थायी कमिटी सदस्य नेम्वाङले बताउनुभयो । सर्वोच्च अदालतको गत बिहीबारको अन्तरिम आदेशले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीद्वारा गरिने निर्णय वै धानिक नहुने भनेको थियो ।

भ्याकेटमा जानेबारे छलफल भइरहेको भए पनि कहिले जानेबारे टुङ्गो लागिनसकेको नेता नेम्वाङले बताउनुभयो । सर्वोच्चको अन्तरिम आदेशले एमाले पार्टीलाई समस्या परेपछि भ्याकेटमा जाने निर्णय हुन लागेको र चाँडै टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया